सरोज बस्नेत

उर्लाबारी । पूर्वी मोरङको सम्भावना बोकेको नगरभित्र पर्दछ, उर्लाबारी नगरपालिका । मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव ५५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा अवस्थित उर्लाबारी नगरपालिकाले दिर्घकालिन सोचःस्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी भन्ने मूलनारा अघि सारेको छ । हालको उर्लाबारी नगरपालिका २०३५ सालमा मधुमल्ला गाउँ पञ्चायतको ५ र ९ नम्बर वडा, लेटाङ गाउँ पञ्चायतको ७,८ र ९ नम्बर वडाका केही भाग मिलेर उर्लाबारी बनेको थियो । उर्लाबारी गाविसलाई सरकारले २०७१ बैशाख २५ गतेको निणर्यानुसार नगरपालिकाको रुपमा घोषणा गरेको थियो । तत्पश्चात सरकारको २०७३ फागुन २७ को पुर्नसंरचनाको निर्णयानुसार साविक उर्लाबारी नगरपालिकामा साविक राजघाट गा.वि.स. र साविक मधुमल्ला गा.वि.स. को वडा ७, ८ र ९ समायोजन भई उर्लाबारी नगरपालिकाको रुपमा कार्यान्वयन भएको थियो । उर्लाबारीमा प्राकृतिक रुपमा जैविक विविधताले भरिपूर्ण वन, सिमसार, खोला नाला र भौतिक रुपमा विभिन्न मठ मन्दिर, गुम्बा, माङ्हिम, चर्च, मस्जिद र बहुसांस्कृतिक रुपमा मिलेर बसेको समुदाय रहेको छ । यहाँ, ब्राह्मण, क्षेत्री, राई, लिम्बू, धिमाल, मगर, गुरूङ, नेवार, तामाङ, सन्थाल, दनुवार, झाँगड, उराउ, दमाई, कामी, मारवाडी, मधेसी, मुस्लिमलगायत जातजातिको मिश्रित बसोबास रहेको छ । यहाँ बसोबास गर्ने समुदायको मुख्य पेसा कृषि र पशुपालन नै रहेपनि शहरीकरणसँगै व्यापार, व्यवसाय, नोकरी र वैदेशिक रोजगार मुख्य आयस्रोतका रुपमा रहेका छन् । वरिपरी खोलैखोलाले घेरिएको यस नगरपालिकाको पूर्वमा झापा जिल्लाको दमक नगरपालिका, पश्चिम क्षेत्रमा पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिका, उत्तरमा मिक्लाजुङ्ग गाउँपालिका र दक्षिणमा रतुवामाई नगरपालिकासँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने ७४.६२ वर्ग कि.मि. रहेको छ । समुन्द्री सतहबाट २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी देशान्तर भूभागमा यस नगर पालिका अवस्थित रहेको पाइन्छ । मोरङ उर्लाबारी को वडागत जनसंख्या विवरण
उर्लाबारीको जम्मा जनसंख्या ७० हजार ९ सय ८ रहेको छ । पुरुषको संख्या ३३ हजार ३ सय ५६ रहेको छ भने महिलाको जनसंख्या ३७ हजार ५ सय ५२ रहेको छ ।
वडा नम्बर १ मा जम्मा जनसंख्या ८ हजार ८ सय ४ रहेको छ । जसमा पुरुष ४ हजार १ सय ६१ र महिला ४ हजार ६ सय ४३ रहेका छन् । त्यस्तै, वडा नम्बर २ मा जम्मा जनसंख्या ८ हजार ४ सय १३ रहेको छ । जसमा पुरुष ३ हजार ९ सय ५५ र महिलाको ४ हजार ४ सय ५८ रहेको छ ।
त्यस्तै, वडा नम्बर ३ मा जम्मा जनसंख्या ७ हजार ३ सय २ रहेको छ । जसमा पुरुष ३ हजार ४ सय ८६ र महिला ३ हजार ८ सय १६ रहेका छन् । त्यस्तै, वडा नम्बर ४ मा जम्मा जनसंख्या ९ हजार ७ सय ९० रहेको छ । जसमा पुरुष ४ हजार ६ सय २१ र महिला ५ हजार १ सय ६९ रहेका छन् । त्यस्तै, वडा नम्बर ५ मा जम्मा जनसंख्या ५ हजार ५ सय ३५ रहेको छ । जसमा पुरुष २ हजार ५ सय ६६ र महिला २ हजार ९ सय ६९ रहेको छ ।
त्यस्तै, वडा नम्बर ६ मा जम्मा जनसंख्या ५ हजार ६ सय ७० रहेको छ । जसमध्ये पुरुष २ हजार ७ सय ४९ र
महिला ३ हजार २१ रहेको छ । त्यस्तै, वडा नम्बर ७ मा जम्मा जनसंख्या १० हजार ७ सय १९ रहेको छ । जसमा पुरुष ५ हजार ६८ र महिला ५ हजार ६ सय ५१ रहेको छ । त्यस्तै, वडा नम्बर ८ मा जम्मा जनसंख्या ७ हजार ८ सय ५१ रहेको छ । जसमध्ये पुरुष ३ हजार ६ सय ३९ र महिला ४ हजार २ सय १२ रहेको छ । त्यस्तै, वडा नम्बर ९ मा जम्मा जनसंख्या ६ हजार ८ सय २४ रहेको छ । जसमध्ये पुरुष ३ हजार २ सय ११ र महिला ३ हजार ६ सय १३ रहेको छ ।
सन्थाल भाषाको दुई शब्दहरु उर्ला (बाघ) र वाडि (ठाउँ) अथवा बाघ बस्ने ठाउँको रुपमा परिचित पुरानो जंगल क्षेत्र क्रमिक रुपमा मानिसको बसोवास वृद्धिसँगै नगर क्षेत्रको रुपमा विकसित भएको मान्न सकिन्छ । उर्लाबारी चौक दक्षिणतर्फ सिधा मोरङ जिल्लाको सदरमुकाम तथा कोशी प्रदेशको राजधानी विराटनगर पुग्ने बैकल्पिक सडक तथा उत्तरतर्फ उत्तर मधुमल्ला हुँदै पाँचथरको रविसम्म जाने बाटो रहेको छ । पाँचथरको रबीसम्मको सडक ब्यवस्थित बनाउन सकेको खण्डमा उर्लाबारी ब्यापारिक केन्द्र बन्ने देखिन्छ । जसका कारण पनि उर्लाबारी पूर्वी मोरङको महत्वपूर्ण शहरमा गनिन्छ । साथै उर्लाबारीको किसान चौक, टाँडी हुँदै रमितेसम्म पुग्ने सडक पनि कालोपत्रेको भएको छ । उर्लाबारीको चिउरामिल हुँदै आम्बारी–भोटेपुल पनि बर्षेनी सडक कालोपत्रे भइरहेको छ । यसका अलवा उर्लाबारीका हरेक स्थानमा सडक कालोपत्रे तथा ग्राभेललगायतका काम तीब्र गतिमै अघि बढिरहेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासका गतिबिधि पनि उत्तिकै मात्रामा प्राथमिकताका साथ अघि बढिरहेका छन् । साथै उर्लाबारी क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुले पनि उर्लाबारीको गरिमा बढाइरहेका छन् । सिमसार, गुम्बा, मन्दिर, माङ्हिम, चर्च, मस्जिद, महाराज थान, नदीनाला, दुर्लभ पन्छीहरुको बसोबास रहेको नगरलाई आन्तरिक र वाह्य पर्यटकहरुको गन्तव्य बनाउने अभियानमा छ, यो नगरपालिका ।
उर्लाबारीमा धार्मिक पर्यटनको रुपमा प्रवद्र्धन गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । उर्लाबारी–४ को रामेश्वर शिवालय मन्दिर, उर्लाबारी–५ को बौद्ध गुम्बा र व्रह्मकुमारी राजयोग सेवा केन्द्र (ओम शान्ति), उर्लाबारी–६ को महारुद्र शिवालय मन्दिर र शिद्धेश्वर बाबा धाम, बैदिक बेद ब्यास गुरुकुल (संस्कृत विद्यालय), उर्लाबारी–७ को नवदुर्गा वेद विद्या तथा राधाकृष्ण मन्दिर, सिद्धिविनायक गणेश मन्दिर, देवीस्थान दुर्गा मन्दिर र हेब्रोन चर्च, मस्जिद, उर्लाबारी–४ को लक्ष्मीनारायण मन्दिर र उर्लाबारी–३ को रामेश्वर शिवालय मन्दिर, दुर्गा मन्दिर र उर्लाबारी–३ सालबारीमा अवस्थित गुरु गोरक्षनाथ अखण्ड धुनी, साङ्छोलिङ गुम्बा लगायत धार्मिक सम्पदा छन् ।
यस्तै, पूर्वकै नमूनाको रुपमा रहेको उर्लाबारी–७ मा अवस्थित नमूना बाल गृह, उर्लाबारी–३ मा अवस्थित जननेता मदन भण्डारीको स्मृतिमा सम्पूर्ण जीवनी समेटिएको संग्रहालय, पुष्प बाटिका, व्यावसायिक हितको लागि उद्योग वाणिज्य संघ, पत्रकारको साझा संस्था सञ्चार क्लब नेपाल, इलाका स्तरीय कार्यालयको रुपमा इलाका प्रशासन कार्यालय, इलाका हुलाक, पशु सेवा केन्द्र, कृषि सेवा केन्द्र, वन सव डिभिजन कार्यालय एवम् प्रदेश स्तरीय अस्पतालको रुपमा मदन भण्डारी ट्रमा सेन्टर एण्ड अस्पताल र सुरक्षा निकायको रुपमा इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बेस क्याम्प उर्लाबारी तथा मंगलबारे र राजघाटमा अस्थायी प्रहरी चौकी रहेका छन् ।
उर्लाबारी नगरपालिकाले न्याय सम्पादन तथा सुशासनका विषयमा पनि प्राथमिकताका साथ अघि बढाएको छ । महिला सशक्तिकरण र आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको छ । स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक विकास, खेलकुदलगायत क्षेत्रको विकासमा पनि नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको छ ।
शैक्षिक परिदृश्यः
प्राविधिक र व्यवसायिक शिक्षा प्रदान गर्ने देशकै उत्कृष्ट शैक्षिक संस्था मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालमा स्नातक तहको इन्जिनियरिङ कलेज, उच्च शिक्षातर्फ शिक्षा, मानविकी र वाणिज्य शास्त्रमा स्नातकोत्तर तहसम्म अध्यापन गराउने उर्लाबारी बहुमुखी क्याम्पस, कृषिमा बाली विज्ञान र विज्ञान विषयसहित विभिन्न तहको अध्यापन गराइरहेको राधिका माध्यमिक विद्यालय, सव ओभरसियरको पढाइ हुने दुर्गा माध्यमिक विद्यालय साथै निजी क्षेत्रबाट स्नातक तहसम्म अध्यापन गराउने नेपाल दर्शन कलेज र मोरङ मोडल कलेज छन् । यस्तै, विद्यालय तहको शिक्षा प्रदान गर्न २२ सामुदायिक र ३३ संस्थागत विद्यालय सञ्चालित भएसँगै विषयगत पढाइ सीपमुलक व्यवसायिक शिक्षाका लागि उर्लाबारी शैक्षिक हवको रुपमा विकसित हुँदै गइरहेको छ ।
स्वास्थ्यः
उर्लाबारी नगरपालिकाले आर्थिक रुपमा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने अभियान सञ्चालन गरिरहेको छ भने वडाको सिफारिसमा उपचारको अभाव भएका बिरामीहरुलाई आर्थिक सहयोग समेत गर्दै आएको छ । उर्लाबारी–३ मा प्रदेश स्तरीय अस्पतालको रुपमा मदन भण्डारी ट्रमा सेन्टर एण्ड अस्पताल सञ्चालनमा रहेको छ भने उर्लाबारी–८ मा नगर स्तरीय अस्पताल (राजघाट स्वास्थ्य चौकी) रहेको छ । त्यस्तै, उर्लाबारी–८ मै आयुर्बेदिक अस्पताल रहेको छ । त्यस्तै, निजी स्तरमा उर्लाबारी–५ मा अरनिको हस्पिटल, गोदाबरी हस्पिटल रहेको छ भने उर्लाबारी–६ मा पञ्चावती हस्पिटल रहेको छ । उर्लाबारीका ९ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्रमार्फत सेवा प्रवाह भइरहेको छ । नगरपालिकाले आर्थिक अवस्था कमजोर भएकाहरुलाई अस्पतालसम्म लैजान एम्बुलेन्सको ब्यवस्था मिलाएको छ ।
पर्यटन विकास
वेतिनी सिमसारः
उर्लाबारी नगरपालिका वडा नं. २ मा अवस्थित यो सिमसार रमणीय साथै जैविक विविधतायुक्त रहेको छ । स्थानीय रुपमै १.५ वर्ग किमी क्षेत्रमा निस्कने पानीको मूलबाट बनेको यो सिमसार वेतिनी सामुदायिक वनको १८९.३१ हेक्टर क्षेत्र ओगटेको छ । उर्लाबारी–३ मंगलबारे मूख्य चौकबाट करिब तीन किलोमिटर उत्तर जाँदा पुगिने त्यस ठाउँमा दुई वटा पोखरी रहेका छन् । नगरपालिका, प्रदेश सरकार र सामुदायिक वन उपभोक्ता समितिको लगानीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने सम्झौता गरी भौतिक विकासको क्रम अघि बढाइएको छ । सिमसारसँगै बाल उद्यानको समेत रहेको छ । आकर्षणको रुपमा जोडी पाटे बाघको प्रतिमा निर्माण र वनभोज स्थलका लागि कटेज लगायतका स्थान निर्माण गरिएको छ ।
बुढाठाकुर भुल्के सिमसारः
उर्लाबारी–२ सुनझोडामा अवस्थित यो सिमसार पनि जैविक विविधतापूर्ण रहेको छ । आदिवासी धिमाल समुदायले वि.सं. १९४४ सालदेखि पूजाआजा गर्दै आएको यस क्षेत्रको विकासको निम्ति पहल र प्रयास हुँदै आएको छ । उर्लाबारी–३ नयाँ मंगलबारेबाट करिब ५ किलोमिटर उत्तर गएपछि सुनझोडा मावि हुँदै खोला पश्चिम सुकुम्बासी बस्ती छेउ रहेको यो सिमसार पनि उर्लाबारीको गहनाको रुपमा रहेको छ । उर्लाबारी नगरपालिकाको पहलमा सिमसारसँगै रहेको धिमाल ग्रामथान मर्मत र सिमसारको विकासका प्रयासहरु भइरहेका छन् । सुनझोडा सामुदायिक वन उपभोक्ता समितिको चार हेक्टर क्षेत्रफलमा रहेको यो सिमसारमा प्रत्येक वर्षको जेठ २३ गते धिमाल समुदायको भव्य पूजा र सिरिजात (जात्री) मेला लाग्ने गरेको छ ।
लामपाते सिमसारः
उर्लाबारी नगरपालिकाको वडा नं. २ भुसीमा रहेको अर्को सिमसार हो यो । स्थानीय सालबारी वन उपभोक्ता समितिको पहलमा विकासको चरणमा रहेको यो सिमसार करिव ५ हेक्टर क्षेत्रफलमा रहेको छ । नगरपालिका र स्थानीयको पहलमा सिमसारको रुपमा संरक्षण र विकासको प्रयास हुँदै आएको यो स्थानमा पुग्न उर्लाबारी–३ नयाँ मंगलबारे, सालबारी चौक हुँदै शान्ति मावि पश्चिम जानु पर्छ । यहाँ पुग्न राजमार्गबाट ३ किलोमिटर दुरी तय गर्नुपर्छ ।
यसैगरी उर्लाबारी–१ लक्ष्मीझारमा अवस्थित प्रगतिशील सामुदायिक वन क्षेत्रमा रहेको सिमसार र उर्लाबारी–२ को बाँसेचौरीमा अवस्थित सिमसारको विकासको निम्ति पनि एकीकृत रुपमा योजना निर्माण गरी लाग्ने हो भने यस नगरले प्रशस्त फाइदा लिने ठाउँ रहेको छ ।
वित्तीय क्षेत्रः
उर्लाबारी नगरपालिका एक परिचित व्यावसयिक क्षेत्रको रुपमा विकास भएको छ । व्यवसाय प्रवद्र्धनको लागि यस उर्लाबारी नगरीमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त एक दर्जन बैंकहरु र सहकारीहरुलाई आर्थिक सहजता प्रदान गर्न राष्ट्रिय सहकारी बैंकको उपस्थिति रहेको छ । अर्थतन्त्रको एक खम्बाको रुपमा रहेको सहकारी क्षेत्रपनि यस नगरीमा उल्लेख्य मात्रामा रहेका छन् । जसले आफ्ना शेयर सदस्यहरुलाई आर्थिक संकट र व्यावसायिक प्रवद्र्धनमा सहजता प्रदान गरेको पाइन्छ । यसरी नै वित्तीय कारोबार गर्ने अन्य लघुवित्त, इन्भेष्टमेन्ट कम्पनी, इन्स्युरेन्स कम्पनी र विभिन्न वित्तीय संस्थाहरु पनि यस नगरीमा क्रियाशील रहेका छन् ।
सञ्चारः
वि.सं. २०४३ सालदेखि नै पत्रकारिताको जग बसालिएको उर्लाबारीमा दुर्गाप्रसाद भट्टराई, रमेश भट्टराई (पाखे), दुर्गाप्रसाद खतिवडालगायतको प्रयासमा पत्रकारिताको सुरुवात गरेको पाइन्छ । हाल राष्ट्रिय समाचार पत्र दैनिक, न्यू पाथीभरा, पूर्वज्योति साप्ताहिक प्रकाशित भइरहेका छन् भने प्राइम एफएम प्रसारित रहेको छ । सूचना र प्रविधिको क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात गर्दै पूर्वी कमाण्ड डटकम, कोशी दैनिक डटकम, नेपाली पोट्ल डटकम, पूर्वी प्रेस डटकम, मावा टाइम्स, इनेपाल पेज डटकम, उर्लाबारी पेज डटकम, मंगलबारे पेज डटकमलगायत अनलाइन सञ्चालित रहेका र दर्जनभन्दा बढी पेजहरु सञ्चालित छन् । २०६० सालमा पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपाल स्थापना गरिएसँगै व्यावसायिक र पेशागत हितको निम्ति कार्य गर्दै आएको पाइन्छ । कला, साहित्य, खेलकुद र संगीतको क्षेत्रमा थुप्रै राष्ट्रिय प्रतिभा जन्माइसकेको उर्लाबारीले यस क्षेत्रमा लागेकाहरुको प्रोत्साहन र सम्मान गर्ने तथा यस ठाउँको विकासलाई एकीकृत रूपमा योजना बनाउनेतर्फ सरोकारवालाहरुको ध्यान जाने हो भने प्रदेश कै समृद्ध नगर बन्ने सम्भावना रहेको छ ।
को को बने हालसम्म जनप्रतिनिधि ?
साविक उर्लाबारी नगरपालिकामा साविक राजघाट गा.वि.स. र साविक मधुमल्ला गा.वि.स. को वडा ७, ८ र ९ समायोजन भई उर्लाबारी नगरपालिका बन्यो । तर, हालसम्म यो क्षेत्रको को को जनताको प्रतिनिधि भई काम गरे भन्ने आम जनतामा जिज्ञासा रहेको पाइन्छ । उर्लाबारी नगरपालिकामा रहेको तथ्यांक अनुसार कहरमान धिमाल पहिलो प्रधानपञ्च थिए । उनी २०१८–२०२२–२०२६ सम्म साविक राजघाटको प्रधानपञ्च भई सेवा गरे । १९७४ मा जन्म भएका कहरमानको मृत्यु २०४७ मा भएको थियो । त्यसपछि कुलबहादुर लिम्बू पोमूले २०२६–२०२९–२०३४ सम्म राजघाटको प्रधानपञ्च बनेर काम गरे । उनको १९९१ मा जन्म भएको थियो भने २०६१ मा निधन भएको थियो ।
त्यस्तै, २०३४–२०३९ सम्म सर्वलाल धिमाल साविक राजघाटको प्रधानपञ्च बनेका थिए । १९९१ मा जन्म भएका सर्वलालको २०७६ मा निधन भएको थियो । उर्लाबारीको २०३५–२०३९–२०४३–२०४७ सम्म उपेन्द्र थापा प्रधानपञ्च बने । १९९५ मा जन्म भएका थापाको २०६१ मा निधन भएको थियो । साविक राजघाटको २०३९–२०४३–२०४६ सम्म इन्द्रबहादुर राई प्रधानपञ्च बने । १९९७ मा जन्म भएका राईको २०६९ मा निधन भयो । त्यस्तै, साविक उर्लाबारीको २०४९–२०५४–२०५९ सम्म घनेन्द्र जिमी गाविस अध्यक्ष बने । २०१८ मा जन्म भएका जिमीको २०६७ सालमा निधन भयो । त्यस्तै, साविक राजघाटको २०४९–२०५४–२०५९ गाविसको अध्यक्ष चन्द्रकुमार थेबे अध्यक्ष बने । २०१५ सालमा उनको जन्म भएको थियो । नगरपालिका भएपछि पहिलो मेयरको रुपमा खड्ग फागो निर्वाचित भए । उर्लाबारी–५ निवासी फागो नेपाली कांग्रेस कोशी प्रदेशको सह–महामन्त्री रहेका छन् भने हाल उर्लाबारी नगरपालिकाको मेयर गंगाप्रसाद खरेल रहेका छन् । खरेल उर्लाबारी नगरपालिकाको दोस्रो मेयर बन्न पुगे । उर्लाबारी–७ निवासी खरेल मेयर भएको एक बर्ष पुगेको छ । खरेलले भ्रष्टचारमुक्त नगर बनाउने घोषणाका साथ नगरको विकास र समृद्धिमा जोड दिइरहनुभएको छ ।
धिमाल जाति ‘प्रथम नागरिक’
उर्लाबारी नगरपालिकाले धिमाल जातीलाई सर्वसम्मत प्रथम नागरिक घोषणा गरिएका छ । उर्लाबारी क्षेत्रमा परापूर्व कालदेखि बसोबास गरेका धिमाल जातिको ऐतिहासिकताको सम्मानस्वरुप उनीहरुलाई प्रथम नागरिक घोषणा गरिएको हो । झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने एक मौलिक भाषा र जीवनशैली बोकेको जाति हो धिमाल । आदिकालबाटै प्रकृतिमा निर्भर रहिआएको र प्रकृति धर्ममा आस्था राख्ने यो जातिको खानपान र भेषभुषामा आफ्नै मौलिकपना देख्न सकिन्छ । पूर्वी नेपालका अन्य जिल्लामा पनि यो जातिको उपस्थिति रहे पनि त्यो नगन्य मात्रामा पाइन्छ । धिमालहरु आफ्नै भाषा, भेषभूषा, संस्कृति, रहनसहन र पहिचान झल्काउने रीतिरिवाज भएका एक समृद्ध जाति हुन् ।
बसोबासको हिसाबले संयुक्त परिवारमा बस्न रूचाउने यो जातिका मान्छेहरूको परम्परागत घर माटो, काठ, ढुङ्गाद्वारा निर्मित हुने र प्रायः गरी भुइँतलामा बस्ने गर्छन् । ३÷४ परिवार मिली बीचमा प्रशस्त आँगन छाडेर घर बनाउने गर्छन् । तर अहिले विस्तारै यो चलन कम हुँदै गएको छ । धिमालहरूको शारीरिक बनावटलाई झट्ट नियाल्दा उनीहरू मंगोलियन जाति समूहमा राख्न सकिने खालका हुन्छन् । कालो वर्ण, थेप्चो नाक, मोटा घाटा शरीर, मोटा ओठ, ससाना आँखा धिमालहरूको शारीरिक बनावट हुन्छ । तराई प्रदेशमा बसोबास गर्ने हुँदा धिमालहरू मौसमअनुसार सुहाउँदो लुगाहरू लगाउँछन् । तर विशेष समारोहमा उनीहरूको मौलिक परम्परा अनुसारको छुट्टै खाले पोसाक संस्कृति छ ।
यस्तो छ वडाको अवस्था
उर्लाबारी ननगरपालिका वडा नं. १ भौगोलिक रुपमा सबैभन्दा विकट मानिन्छ । खोलैखोलाले बेरिएको यो वडा बर्षेनी डुवानको चपेडामा पर्ने गरेको छ । साविकको मधुमल्ला गाबिसको वडा नं. ७, ८ र ९ लाई एकीकृत गरेर वडा नं. १ बनाइएको हो । १३.०१ वर्ग किलोमिटर रहेको यो वडा क्रमशः विकासको पथमा लम्किँदै गएको छ ।
राज्यको पुनर्संरचनाको क्रममा तत्कालिन उर्लाबारी गाबिसको वडा नं. ६, ७ र ९ लाई मिलाएर बनेको वडा हो, उर्लाबारी नगरपालिका वडा नं. २ । उर्लाबारीको उत्तरपश्चिममा रहेको यो वडा ८.३५ वर्ग किलोमिटरमा फैलिएको छ । यो वडामा बेतिनी सिमसारलगायतका पर्यटकीय स्थलहरु रहेका छन् ।
पूरानो आवादी, २ खोलाको घेराभित्र अवस्थित, धिमाल जातिको बाहुल्यता भएको ठाउँ, सुनपकुवा नामले परिचित वडा हो, उर्लाबारी वडा नं.३ । यहाँ जनप्रतिनिधिहरु आएसँगै विकास निर्माणले गति पाउन थालेको छ । २.९९ वर्ग किलोमिटरमा क्षेत्रमा यो वडा फैलिएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठान, मदन भण्डारी ट्रमा सेन्टर तथा अस्पताल, धिमाल जातिय विकास केन्द्रलगायत यहाँ रहेका छन् ।
स्थानीय सरकार गठन भएपछि काँचुली फेरेर पूर्वाधारयुक्त वडाको रुपमा ४ नम्बरलाई चिनिन्छ । यस वडालाई विविधायुक्त ऐतिहासिक वडाको रुपमा पनि चिन्ने गरिएको छ । परापूर्वकालदेखि नै आदिबासी जनजातिको बाहुल्यता सहितको बसोबास रहेको यस वडाका बासिन्दाहरु जीबीकोपार्जनका लागि पराम्परागत पेसा नै अंगाल्दै आईरहेका छन् । यो भनेको कृषि औजार प्रयोग गरेर खेतीपाती गर्नु हो । यो वडाको अर्को विशेषता भनेको उर्लाबारी नगरपालिका वडा नम्बर १,२,३,५,७ र ८ ले छोएको छ । वडा नम्बर ४ अन्य वडाको बीचमा छ । नगरको वडा नम्बर ६ र ९ ले मात्र वडा नम्बर ४ लाई छुँदैन । उर्लाबारी नगरपालिका वडा नम्बर ४ को क्षेत्रफल ८.६८ बर्ग किलोमिटर रहेको वडा कार्यालयले जनाएको छ ।
उर्लाबारीको मुख्य चौकदेखि ग्रामीण क्षेत्रसम्म फैलिएको वडा नं. ५ क्रमिक रुपमा विकासमा लम्किरहेको छ । यो वडा धेरै नेता भएको वडाको रुपमा पनि लिने गरिएको छ । तर, विकास भने अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको देखिन्छ । यो वडा २.७३ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
उर्लाबारी वडा नं. ६ मा विनका निर्माणका गतिबिधिहरुले ब्यापकता पाएको छ । भूगोलको हिसाबले सानो भएपनि विकासको हिसाबले अंग्रपंक्तिमा छ । सडक कालोपत्रे, ग्राभेललगायतका अधिकांश काम भएका छन् । यो वडालाई नमूना बनाउने जमर्कोमा जनप्रतिनिधि लागि परेका छन् । यो वडा २.५५ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
साविकको उर्लाबारी गाबिस वडा नं. ४ अहिले उर्लाबारी नगरापलिका वडा नं. ७ बनेको छ । बंैङ्क तथा वित्तीय संस्थाको हबको रुपमा यो वडालाई लिन सकिन्छ । यस वडामा विकास निर्माणका कामहरु तीब्र गतिमा अघि बढेपनि अपेक्षाकृत रुपमा हुन सकेको छैन । यो वडा २.८३ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
उर्लाबारी नगरपालिका अन्र्तगत साविक राजघाटको १,२,३,४ र ९ वडा समायोजन भएर एउटा सिंगो वडा नम्बर ८ भएको हो । नगर भरिकै वडा मध्ये सबैभनदा ठूलो वडा हो यो । यस वडाको पूर्वमा दमक नगरपालिका, पश्चिम क्षेत्रमा पथरीशनिश्चरे नगरपालिका, उत्तरमा उर्लाबारीकै ७ र ४ नम्बर वडा र दक्षिणमा उर्लाबारीकै ९ नम्बर वडा र रतुवामाई नगरपालिकासँग सीमाना जोडिएको छ । यस वडाको कुल क्षेत्रफ भने २०.३९ वर्ग किलोमिटर रहेको छ । यहाँको अधिकांश भू–भाग खेतीयोग्य जमिन रहेको छ ।
उर्लाबारी नगरपालिका ९ ओटा वडामध्ये वडा नं. ९ दक्षिण पूर्वी भागमा अवस्थित रहेको छ । साविकको राजाघाट गाबिसको वडा नं. ५, ६, ७ र ८ मिलेर बनेको वडा हो यो । पूर्वमा माओवा, पश्चिम र उत्तरमा वडा नं. ८ र दक्षिणमा रतुवामाई नगरपालिका पर्दछ । यो वडा १३.०८ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
उर्लाबारीको मुख्य समस्या
उर्लाबारी एक सम्भावना बोकेको शहर उन्मुख भएपनि यहाँ धेरै चुनौतिहरु रहेका छन् । बर्षाको समयमा बाढी पर्नसाथ उर्लाबारी डुबानमा पर्ने गरेको छ । अब्यवस्थित बसोबासका कारण पनि यो समस्या निम्तिरहेको छ । जथाभाबी जग्गा प्लटिङका कारण सार्वजनिक कुलो पैनी मासिएका छन् । जसका कारण उचित रुपमा ढल निकास हुन नसकेको कारण बर्सेनी उर्लाबारीबासी डुबानमा पर्ने गरेका छन् । उर्लाबारी क्षेत्रका अधिकांश कुलो पैनीको जग्गा ब्यक्तिगत नाममा दर्ता भइसकेका छन् । जसका कारण आफु अनुकुल सानो पैनी र नाला बनाएर बिक्री वा घर निर्माण गर्ने क्रम बढेको छ । त्यसले गर्दा पनि समस्या उत्पन्न गराइरहेको छ । उचित रुपमा ढल निकास गर्न अतिआवश्यक बनिसकेको छ । यसमा सरोकारवाला निकायको ध्यानाकर्षण हुन जरुरी छ । यसका साथै बर्षेनी मुख्यगरी बक्राहा, बक्राहा, सोल्टीलगायत खोलाहरुले खेती योग्य जमिन कटानका साथै बस्ती नै जोखिममा पर्ने गरेका छन् । त्यसका लागि पनि दिगो तटबन्धन गर्नु आवश्यक देखिएको छ । साथै उर्लाबारीमा सार्वजनिक शौचालयको ब्यवस्थापन, बस पार्कलगायतका समस्याहरु रहेका छन् । क्रमशः नगरपालिकाले यी यस्ता समस्यालाई समाधान गर्न अग्रसरता बढाउनु पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय