उर्लाबारी । विश्वभरी फैलिएको कोरोना भाइरस र लकडाउनको कारण ब्यापार ब्यवसाय चौपट बन्यो । अहिले लकडाउन खुलेपनि ब्यापार ब्यवसाय राम्रोसँग चल्न सकेको छैन । लामो समयदेखि मार्केटिङ व्यवसाय गर्दै आएका मोरङ रतुवामाईका निलम खड्काले लकडाउनकै अवधिदेखि कृषि पेशामा रम्न थालेका छन् ।
उर्लाबारी नगरपालिका वडा नं. १ का ४ विघा जग्गा लिजमा लिएर संजिवन खेती, पशुपालन, तरकारी खेती सुरु गरेका छन् । सो आसपासका क्षेत्रमा २० विघा जग्गा लिजमा लिएर करिब १ करोडको लगानीमा संजिवन र कुरिलो खेती गर्ने योजना बनाइरहेका छन् । अहिले ४ विघा क्षेत्रमा संजिवन, तरकारी, पशुपालन, कागतीलगायत खेती लगाइसकेको उनले जानकारी दिए । ग्रेट एग्रीकल्चर कृषि फर्म नामक उक्त फर्ममा दैनिक ४ जनाले रोजगारीसमेत पाएका छन् । सञ्चालक खड्काले भने–‘यो कृषि फर्म लकडाउनकै उपलब्धि हो, अब ब्यवसायसँगसँगै कृषिलाई पनि प्राथमिकता दिएर अघि बढ्छु ।’ पहिलो चरणमा १० लाख रुपैयाँ लगानी गरिसकेको उनको भनाई छ । योजनाबद्ध तरिकाले काम अघि बढिरहेको उनले बताए ।
कृषि क्षेत्रबाट राम्रो आम्दानी गर्न सकिने उनले अनुभव सुनाए । १७ बर्षको उमेरदेखि मार्केटिङ ब्यवसायमा प्रवेश गरेका उनले कृषिमा क्रान्ति आवश्यक रहेको लकडाउनकै बेला महशुस गरेको बताए । लकडाउनले धेरै कुरा पनि सिकायो उनले भने–‘कृषिमा आत्मनिर्भर बनाउनका लागि अव युवाहरु कृषि क्षेत्रमा लाग्नु पर्छ ।’ इष्ट होराइजन उर्लाबारी, इर्जी सप इटहरी, अनि हर्वल उद्योगका सञ्चालक, ग्रेट विजनेसको अध्यक्षसमेत रहेका खड्का सुनचाँदी ब्यवसायमा पनि आबद्ध रहेका छन् । समय मिलाएर ब्यवसाय र कृषिमा समय बेतित गर्ने गरेको उनले सुनाए । उनले निकट भबिष्यमा रतुवामाई र उर्लाबारीमा कृषि संजिवन र कुरिलो खेतीलाई ब्यापक रुपमा लैजाने योजना बनाएका छन् । संजिवनको सब्जीका साथै पातहरुसमेत औषधिका रुपमा प्रयोग गर्न सकिने उनको भनाई छ । कुरिलो बहुबर्षीय तरिकारी बाली भएको र त्यसको बजारिकरण गर्न सकेको खण्डमा राम्रो आम्दानी दिन सकिने उनले बताए ।
ADVERTISEMENT