
उर्लाबारी । मोरङको उर्लाबारीमा पहिलो पटक कोरोना भाइरसका कारण एक जना बृद्धाको मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका– २ कि ८४ बर्षीया कोरोना संक्रमित बृद्धाको आज बिहान घरमै मृत्यु भएको हो । दिर्घरोगले थलिएकी बृद्धालाई दुई दिनअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार गराएर घर ल्याईएको थियो । अस्पतालमै पिसिआर परीक्षण गर्दा बृद्धामा कोरोना पोजेटिभ भेटिएको थियो । बृद्धालाई होम आईसोलेसनमा राखिएको थियो भने उनका परिवार होम क्वारेन्टाईमा बस्दै आएका छन् । बृद्धाको शव व्यवस्थापन नेपाली सेनाको टोलीले गर्ने उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक सुरेश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेनाको टोली मृतकको घरतर्फ आउने क्रममा रहेको छ । हालसम्म उर्लाबारीका समुदाय स्तरमा कोरोना देखिएको थिएन । पहिलो पटक समुदाय स्तरमा कोरोना देखिएको हो । हालसम्म बैदेशिक रोजगारबाट फर्किएका १२ जनाका कोरोना देखिएको थियो ।