
स्थानीय तहको चुनाव हारेपछि धेरै गुमनाम छन् । तर, मोरङको उर्लाबारी–४ को वडाध्यक्षमा पराजित बनेका सर्वजित भण्डारी भने निरन्तर सामाजिक कार्यमा सक्रिय रहेका छन् ।
आफ्नो केही सहयोगले अरुको पिर मर्का र समस्या हल गर्न तत्पर रहन्छन्, यस्तै व्यक्ति हुन् सर्वजित । नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेद्वार बनेका भण्डारी गरिब तथा विपन्न वर्गका व्यक्तिहरुको पिर मर्का र समस्यालाई आफ्नै ठानेर सहयोगी भावना राख्ने उनी आर्थिक हिसावले सामान्य नै भएपनि मनको सम्पन्नताको चुलीमा छन् । स्थानीय स्तरका सामाजिक कार्यहरुमा सदैव अग्रसर रुपमा लाग्दै आएका उनलाई यस क्षेत्रको परीचित समाजसेवीका रुपमा समेत चित्रण गरिएको पाईन्छ । उर्लाबारी वडा नं. ४ का मन्दिर ,संघ संस्था र विकास निर्माणका पूर्वाधारहरु सायदै होलान् जहाँ उनको सहयोग नरहेको होस् । तर, उनलाई साथ दिने अन्य विभिन्न राजनीतिक दलका समाजसेवीहरु भएर पनि उनले आफूलाई अग्रपंतीमा देखाउन सफल भएका हुन् ।
५० बर्षीय भण्डारीले दुःखमा परेका मानिसलाई सकेको सहयोग गर्न सक्दा बेग्लै किसिमको आनन्दको आभाष हुने गरेको बताए । नेपाली कांग्रेसको पूर्व वडा उपसभापतिको जिम्मेवारी निर्वाह गरिसकेका भण्डारी यतिबेला कुनै पनि पदमा छैनन् । तर, पनि सक्रिय राजनीति छन् । उनी ग्लोवल क्लब तथा हलुका सवारी चालक संघको सल्लाहकार संयोजक रहेका छन् । विभिन्न संघसंस्थामा रहेर अनुभव लिएका उनले त्यसका विकास निर्माणमा आर्थिक देखि लिएर भौतिक सहयोग समेत गर्दै आएका छन् ।
पछिल्लो समय सामाजिक कार्यमा यूवाको सक्रियता देखेर खुसी लाग्ने गरेको उनी बताउँछन् । भन्छन्,– देशको जुनसुकै क्षेत्रमा यूवाको सहभागीता रहनु जरुरी छ । केही समय यता सामाजिक कार्यमा यूवाको सक्रियता देख्दा खुसी लागेको छ । यसले निरन्तरता पाउने हो भने समाजको विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ । सामाजिक कार्य गर्दा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाज र राष्ट्रको हितमा लाग्नू पर्छ । नेपाली कांग्रेसका क्रियाशिल सदस्य समेत रहेका उनी भन्छन्,‘जीवनको सार्थकता खोज्ने प्रयासमा भोलि जीवनको उत्तराद्रमा आफैँलाई प्रश्न गर्द आफैँले उत्तर दिन सकियोस् । मैले समाजलाई के दिन सकेँ भन्ने कुराको उत्तर आफैँ पाउनुपर्छ भन्ने लागेको छ ।’