दमक । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारीहरुको पहिचान गरेर मात्रै कारोबार गर्न सुझाव दिनुभएको छ ।
झापाको दमक–४ मा मेची सहकारी संस्थाले निर्माण गरेको मेची आवास क्षेत्र हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सहकारीका नाममा ठगी गर्ने मनसाय बोकेका केही ब्यक्तिहरु पनि सक्रिय रहेको उल्लेख गर्दै सहकारीको पहिचान गरेर मात्रै कारोबार गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
तुलसी सहकारीका पीडितहरुको डेलिगेशन समेत आफूसँग आएको बताउँदै सर्वसाधारणलाई ठगी गर्न खोलेका सहकारी र वास्तविक रुपमा नै सहकारीताको अभ्यास गरिरहेका सहकारीहरुको पहिचान गर्नु पर्ने उहाँको भनाई छ । नाफा कमाउन कम्पनीको रुपमा खुलेका सहकारी र समुदाय मिलेर खोलेको सहकारीबीच भिन्नता रहेको उल्लेख गर्दै उहाँले कृषि क्षेत्रमा सहकारीका माध्यमबाट ठूलो परिवर्तन गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन सहकारीकर्मी र अभियान्ताहरुलाई आग्रह गर्नुभयो ।उहाँले मेची सहकारीले सहकारी र शेयर सदस्यको हितमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । अध्यक्ष ओलीले सहकारी संस्थाहरुको माध्यमबाट कम पैसा भएका नागरिकहरु समेत घरका मालिक बन्न सक्छन् भन्ने नमूना मेची सहकारीले प्रस्तुत गरेको बताउनुभयो ।
मेची सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले मेची आवास क्षेत्रमा कूल ५७ वटा घरहरु निर्माण गरिएको बताउनुभयो । सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडाल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामचन्द्र उप्रेतीलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय