उर्लाबारी । नेकपा एमाले निकट अनेरास्ववियु मोरङकी जिल्ला सदस्य हुन्, प्रिती दाहाल । चैत्र ५ गते हुने स्ववियू निर्वाचनमा उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियू सभापतिको उम्मेद्वार बनेकी दाहाल विद्यार्थीमाझ लोकप्रिय छिन् ।
उर्लाबारी क्याम्पसमा अनेरास्ववियुसहित माओवादीनिकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियू, जसपा निकट समाजवादी विद्यार्थी युनियन र राप्रपा निकट राप्रविसंघको संयुक्त प्यानलबाट उम्मेद्वार बनेकी दाहाल उर्लाबारी बहुमुखी क्याम्पसको पहिलो महिला स्ववियू सभापति बन्ने दाउमा छिन् । यसअघि भएका सम्पूर्ण निर्वाचनमा अनेरास्ववियुले जितेको इतिहास छ । त्यसैकारण पनि दाहाल विजयी हुने सम्भावना प्रवल छ । बिबिएस चौथो वर्षमा अध्ययनरत दाहालले लामो समय स्ववियु चुनाव नभएका धेरै क्याम्पसहरूमा अहिले चुनावी माहोल बन्दै गर्दा महिला पनि नेतृत्वमा आउनुपर्छ भन्ने सोचका साथ अध्यक्षको उम्मेदवार बनेको बताइन् । गुणस्तरीय शान्त वातावरणसहित पठनपाठन, भौतिक विकासमा निरन्तर पहल, प्रविधिमैत्री वातावरण साथ पठनपाठनमा जोड, सुन्दर, स्वच्छ र सफा उर्लाबारी बहुमुखी क्याम्पसको अवधारणा, सूचना तथा रोजगार समन्वय केन्द्रको निर्माण, साहित्य तथा राजनीतिक पुस्तक प्रकाशनमा जोड, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहज अध्ययनको वातावरण, ई–लाईब्रेरीसहित पर्याप्त पुस्तकहरुको व्यवस्था, स्ववियु क्यालेण्डर निर्माण गरी रचनात्मक कार्यक्रमको व्यवस्थित सञ्चालन, स्वच्छ पिउने पानी, ब्यवस्थित चमेना गृह तथा स्यानिटरी प्याडको अनुकूलित व्यवस्था, अवलोकनसहितको प्रयोगात्मक शिक्षाको लागि शैक्षिक भ्रमणको व्यवस्था, सिकाई सहजिकरण, उत्प्रेरणा र मानसिक विकासको लागि अतिरिक्त कक्षा, आवश्यकताअनुसार नयाँ प्राविधिक धारका विषयहरुको थपमा जोड, उद्यमशिल विकास पाठशाला र आइडिया बैंकको स्थापनालगायत योजना अघि सारेकी छिन् । ‘उर्लाबारी बहुमुखी क्याम्पसमा छात्राहरू कै संख्या बढी छ, यस्तो बेलामा महिला नेतृत्व आउनुपर्छ भन्ने चाहना पनि छ, त्यही भएर म अघि बढेको छु’ उनले भनिन्, राष्ट्रिय राजनीतिबाट नै महिला पछि परेका छन्, त्यही भएर पुरुषले पनि यो निर्वाचनमा हामीलाई अघि बढाउनु हुन्छ भन्ने विश्वास लिएको छु ।’ क्याम्पसको समग्र शैक्षिक विकासका लागि सबै विद्यार्थी संगठनहरू मिलेर जानुपर्ने भए पनि राजनीतिक आग्रह पूर्वाग्रहले सवै विद्यार्थी संगठन एकजुट हुन नसकेको दाहालले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय