सरोज बस्नेत, उर्लाबारी
अपाङ्गता हुनु कसैको पनि रहर हुँदैन । व्यक्ति कुनै घटना वा दुर्घटनामा परेर अंङ्ग भङ्ग भइ हुने गर्दछ भने कुपोषण तथा आमालाई कुनै दीर्घरोग भएमा, गर्भावस्था आमा कुनै दुर्घटनामा परेमा बच्चामा जन्मजात पनि अपाङ्गता हुने गर्दछ ।
अपाङ्गता हुनु कुनै रोग होइन । यो एउटा अवस्था मात्र हो । तर, हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई केही पनि गर्न नसक्ने एकदम कमजोर अर्थात बिरामीहरु हुन् भन्ने नकारात्मक दृष्टिकोणले हेर्ने परम्परा छ । तर, अपाङ्गता भएका मानिसहरूले पनि अवसर पाउने हो भने केही गर्न सक्छन् भन्ने गतिलो उदाहरण बनेका छन् मोरङको उर्लाबारीका दृष्टिविहीन राई दम्पति ।
उर्लाबारी– ५ का राजकुमार राई र उनकी श्रीमती इन्दिरा राई दुबै जना दृष्टिबिहीन हुन् । ४३ वर्षीय राजकुमार र ४८ वर्षीया इन्दिरा सबलाङ्गहरूलाई चुनौती दिँदै मुढा बुनेर उदाहरणीय व्यवसायी बनेका छन् ।
बिसं २०६२ सालमा प्लान नेपालको सहयोगमा नेत्रहीन संघ, मोरङले तालिम दिएपछि उनीहरूले व्यावसायिक रूपमा मुढा बनाउने काम गर्दै आएका छन् । मुढा बुन्नका लागि बाँस काटिरहेको अवस्थामा भेटिएका उनीहरूले यही पेसाबाट दुःख सुख खान पुगेको बताए । राजकुमार बाँस काटेर मुढाका लागि आवश्यक कच्चा पदार्थ तयार गर्ने र त्यसलाई इन्दिराले आकार दिने काम गर्ने गरेका छन् ।
बजारबाट मुढा बुन्ने डोरी खरिद गरी यी दम्पतिहरुले मुढा तयार गर्ने गर्दछन् । इन्दिरा घरको काम सकेर पति राजकुमारलाई मुढा बन्न साथ दिन्छिन् । उनीहरूले मासिक रूपमा १० हजार बराबरका मुढा बेच्ने गरेका छन् । यी दम्पतिले हप्तामा १०-१२ वटा मुढा बनाउने गरेका छन् । उनीहरु मुढामात्र नभई कुचोसमेत बनाएर बिक्री गरी दैनिक जिविकोपार्जन गरिरहेका छन् । उनीहरुका दुई छोरी १५ बर्षीया इनिस्ता र ८ वर्षकी स्नीता छन् । इनिस्ता सेन्टइस्टेफेन्स बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्छिन् भने स्नीता लिटिल एन्जल बोर्डिङमा २ मा पढ्छिन् । दुबै बोर्डिङ स्कुलले उनीहरुलाई निःशुल्क पढाउँदै आएका छन् । ठूली छोरी इनिस्ताको सहारामा शनिबार गाउँ गाउँमा मुढा र कुचो बेच्न जाने गरेको इन्दिरा बताउँछिन् । एक थान मुढा २ सय ५० रुपैयाँमा बिक्रि हुन्छ । ‘सबै जनाले छोरीको अनुहार हेरेर भएपनि मुढा किनेर सहयोग गर्दिनु हुन्छ’ इन्दिराले भनिन्–‘ मुढा बनाएर आएको पैसाले दुःखसुख नुन भुटन पुग्छ ।’
दृष्टिविहीन राई दम्पतिको कथा
राजकुमारले ८ वर्षको उमेरसम्म आँखा देखेपनि पछि आँखा देख्न छोडेको बताए । ‘उमेर बढ्दै जाँदा मेरा आँखाले काम गरेनन् । के गर्नु समयमै उपचार गरेको भए संसार देख्न पाइन्थ्यो कि ?’ उनले दुःख प्रकट गर्दै भने–‘२०५६ सालमा संखुवासभाको खाँदबारीबाट मधेस झरियो । त्यतिबेला अस्पतालमा देखाउँदा धेरै ढिलो भैसकेको रहेछ ।’ इन्दिरा राईको व्यथा भने अर्कै छ । उनको १ वर्षकै उमेरमा आँखाको ज्योति गुमेको थियोे । उनीहरुले विवाहपछि पनि धेरै अस्पतालमा धाए । तर, श्रीमान र श्रीमतीको एकअर्को मुहार र छोरीहरु हेर्ने सपना भने अधुरो रह्यो । डाक्टरले जतिनै उपचार गराएपनि आँखा देख्न नसक्ने बताएको राजकुमारले बताए ।
पहिलो भेटमै प्रेम
२०६२ सालमा प्लान नेपालको सहयोगमा नेत्रहीन संघ, मोरङले बेलबारीमा दिएको मुढा बुन्ने तालिममा राजकुमार र इन्दिराको भेट भयो । तालिमकै क्रममा उनीहरुको चिनजान भयो । दूवैजना दृष्टिबिहीन भएका कारण एकअर्कालाई हेर्ने चाहना पूरा नभएपनि उनीहरुको मन मिल्दै गयो । सोही तालिममा उनीहरुको प्रेमको टुसा पलाउँदै थियो । तर, उनीहरुको प्रेम नफस्टाउँदै तालिम सम्पन्न भयो । बिसं २०६३ सालमा पथरी शनिश्चरेमा दृष्टिबिहीनहरुलाई सङ्गीतको कक्षा सुरु भयो । संयोगबस उनीहरुको फेरि भेट भयो । दुबैले आ–आफ्ना दुःखमात्र बिसाएनन् एकअर्कालाई जीवन नै साथी रोजे । त्यसपछि उनीहरु वैवाहिक सम्बन्धमा बाँधिए ।
समाचारले बन्यो घर
दृष्टिविहीन राई दम्पति वैवाहिक जीवन सुरुवात गरेपछि उर्लाबारी–५ मा आफन्तको जग्गामा घामपानी छेक्ने सानो झुपडी बनाएर बसेका थिए । त्यही क्रममा विभिन्न सञ्चार माध्यमले दृष्टिविहीन राई दम्पतिको अवस्थाका बारेमा समाचार प्रकाशन गरेपछि देश(विदेशबाट घर निर्माणका लागि सहयोग जुट्यो । समाजसेवी शोभितमाया तामाङ, संचारकर्मी घनश्याम भण्डारीलगायतको अग्रसरतामा जस्ताको छाना लगाएको पक्की घर निर्माण गरियो । कठिन तरिकाले बसोबास गर्दै आएका यी दम्पतिलाई घर निर्माणपछि राहत मिल्यो ।
छोरीलाई आँखाको डाक्टर बनाउने सपना
दृष्टिविहीन राई दम्पतिले आफ्नी छोरीलाई डाक्टर बनाउने सपना देखेका छन् । ठूली छोरी इनिस्ताले भनेको स्मरण गर्दै इन्दिराले भनिन्–‘ममी म डाक्टर बनेर हामीजस्तै गरिब दुखीको सेवा गर्छु ।’ ‘छोरीलाई डाक्टर पढाउने हाम्रो आर्थिक अवस्था त छैन’ उनले भनिन्–‘राम्रो पढि भने सबैले डाक्टर पढाउन सहयोग गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’ राजकुमार भन्छन्, ‘छोरीलाई आँखाको डाक्टर बनाउने धोको छ । हामी त देख्दैनौँ, छोरीहरुले दृष्टिबिहीनहरुको ज्योति फर्काउन सकुन् ।’
उदाहरणीय दम्पति
दृष्टिबिहीन राई दम्पति समाजका लागि उदाहरणीय पात्र हुन् । अधिकांश मानिस बेरोजगार भएको अवस्थामा यी राई दम्पतीबाट पाठ सिक्नुपर्ने स्थानीय सञ्चारकर्मी घनश्याम भण्डारी बताउँछन् । दृष्टिबिहीन राई दम्पति अहिले अरुको सहारामा नभई आफ्नै पौरखमा बाँचिरहेका छन् । उनीहरुलाई आँखाले धोका दिएपनि पौरखले जीवन फेरिएको बताउँछन् । उनीहरु यतिबेला आफ्नो इलममा रमाइरहेका छन् । राई दमपति अरुका लागि प्रेरणाको पात्रसमेत बनेका छन् । दृष्टिबिहीन राई दम्पतिको संर्घषको कथाले जोकसैलाई जीवन जीउन ऊर्जा दिन्छ ।