उर्लाबारी । मोरङको उर्लाबारी–८ को लक्ष्मी माध्यमिक विद्यालय शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा कहलिएको छ ।
२०४९ सालमा स्थापना भएको सो विद्यालयमा नमूना विद्यालयको रुपमा कहलिएको हो । गुणस्तरीय शिक्षामा जोड दिँदै आएको सो विद्यालयमा पढाउने शिक्षकका छोराछोरी सोही विद्यालयमा पढाउने नीति लिएको छ । सो विद्यालयमा पढाउने उर्लाबारी क्षेत्रका शिक्षकहरुले सोही विद्यालयमा पढाउने गरेका छन् । यहाँको शैक्षिक तथा भौतिक वातावरणले गर्दा पछिल्लो समय यस विद्यालय शैक्षिक अवलोकनको केन्द्र बनेको हो ।

सो विद्यालयमा विभिन्न जिल्लाबाट शैक्षिक अवलोकनका लागि शिक्षक, विद्यार्थी तथा अभिभावक आउने गर्दछन् । समयको परिवर्तनसँगै विद्यार्थीको आवश्यकताअनुसार प्रविधियुक्त शिक्षामा जोड दिइएको प्रधानाध्यापक रामबहादुर थापाले बताउनुभयो । विद्यालयमा ५ सय भन्दा बढी विद्यार्थीहरु अध्ययरत रहेका छन् । विद्यालयको ६ वटा भवन रहेका छन् भने १८ वटा कोठाहरु रहेका छन् । साढे आठ कट्ठा जग्गामा मात्र रहेको छ । सो मध्ये २०७२ र २०७४ सालमा अभिभावक तथा शिक्षकहरुले देउसीभैलो कार्यक्रम गरी २ कट्ठा ६ धुर जग्गा खरिद गरिएको थियो भने अन्य जग्गादाताहरुले दिएका हुन् । कक्षा १ देखि कक्षा १२ सम्म पढाई हुने सो विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई हुँदै आएको छ । कक्षा ११ र १२ मा बर्षेनी उत्कृष्ट नतिजा ल्याउँदै आएको छ भने एईई नतिजामा पनि अब्बल देखिएको छ । कक्षा ११ र १२ मा कम्प्यूटर, विज्ञान र ब्यवस्थापन विषयमा अध्ययन हुँदै आएको छ । २०७२ सालको एसईईमा २०७२ सालमा मोरङ तेस्रो र उर्लाबारी प्रथम बनेको थियो । विद्यालयमा कक्षा ६ सम्मका विद्यार्थीहरुलाई दिवा खाजा भुजा तरिकारी, जाउली, खिर, खिचडी, चना चिउरालगायतको ब्यवस्थापन हुँदै आएको छ । आमाबुवा नभएका, नमूना बाल गृह, आर्थिक अवस्था ज्यादै कमजोर भएका विद्यालयहरुलाई निःशुल्क र अन्यलाई सहयोग शुल्कको लिएर विद्यालय सञ्चालन गर्दै आएको छ । सरकारीतर्फ प्राविमा ८ र निमाबिमा २ जना शिक्षक दरबन्दी रहेको छ भने निजी स्रोतमा ९ जना रहेका छन् । मावि दरबन्दी र आवश्यक दरबन्दी नहुँदा अभिभावकहरुसँग सहयोग शुल्क लिएर ९ जना शिक्षक कर्मचारीलाई निजी स्रोतमा तलब खुवाउनु पर्ने बाध्यता रहेको प्रधानाध्यापक थापाको भनाई छ ।

विद्यार्थीले चाहेअनुसारको सामग्रीको व्यवस्थापन गरेर शैक्षिक क्रियाकलाप अगाडि बढाएकोे शिक्षक माइकल राउत बताउनुहुन्छ । विद्यार्थीहरुलाई शैक्षिक कार्यमा विद्यालयले कुनै पनि प्रविधि तथा सामग्रीमा कमी गराएको छैन, विद्यालय आउँदा जसरी उत्साहका साथ पढ्न आउँछन् त्यसरी नै विद्यालय सकिएपछि उत्साहका साथ नै विद्यार्थी पढेर घर फर्कने वातावरण विद्यालयले तयार पारेको शिक्षक राउतको भनाई छ ।
खेलकुदमा पनि विद्यालय अब्बल देखिएको छ । भर्खरै सम्पन्न उर्लाबारी नगरपालिका अन्तरगत राष्ट्रपति रनिङ शिल्डमा ७ स्वर्ण, ४ रजत र ८ कास्य पदक जित्दै उर्लाबारी दोस्रो बन्यो । एथलेटिक्समा उर्लाबारी प्रथम र कराँतेमा तेस्रो बन्यो । भलिबल होस् वा फुटबलमा समेत यो विद्यालय अब्बल छ ।

प्रधानाध्यापक थापाले ‘सोचेजस्तै विद्यालय, खोजेजस्तै पढाइ’ अन्तर्गत विद्यार्थीहरुको रुचि र क्षमताअनुसार विद्यार्थीहरुको समूह विभाजन गरी विद्यालय समयभन्दा बाहिर विद्यार्थीहरुलाई बौद्धिक एवम् खेलकुद तालिम दिइने गरेको बताउनुभयो । विद्यालयमा इन्टरनेट जडान, सिसिटिभी, क्यामेरा जडान गरी विद्यालय परिसर ल्याब तथा पुस्तकालय एवम् अन्य महत्वपूर्ण स्थानहरु रेखदेख गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय