धरान । धरान–११ की २२ वर्षीया सोनी हाङ्मा लिम्बु आफ्नै कोठामा मृत फेला परेको १२ दिन बितेपनि पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छैन ।

तीन महिनाअघि मात्र विवाह गरेर आएकी सोनी हाङ्मा भदौ २२ गते कोठामा मृत भेटिएपछि घरपटि बाट उनले आत्महत्या गरेको बताइएको थियो । तर उनको माइती पक्षले हत्या हुन सक्ने भन्दै प्रहरीमा किटानी जाहेरी दिएपछि चार जना पक्राउ परेका छन् । तर प्रहरीले अहिलेसम्म पोष्टमार्टम रिपोर्ट सार्वजनिक नगर्दा उनले आत्महत्या गरेको हो कि अन्य कारणले मृत्यु भएको स्पष्ट हुन सकेको छैन ।

सोनी हाङ्माका बाबुले छोरीको मृत्युको कारण बुझ्न प्रहरीसँग रिपोर्ट माग गर्दापनि नदिएको सोनीहाङ्माका काका टेकराज तिगेलाले बताए । उनका अनुसार छथरे समाजका अध्यक्ष मोहन खेवा तिगेला रिपोर्ट बुझ्न गएपनि प्रहरीले देखाउन मानेन । उनले टेलिफोन सम्पर्कमा ब्लाष्टखबरसँग भने,‘प्रहरीमा रिपोर्ट आईसकेको छ भन्ने बुझेका छौं तर प्रहरीले भन्न मानेको छैन । हामीलाई केही चलखेल भईरहेको छ भन्ने शंका लागेको छ । नत्र मृतकका बाबुआमालाई पनि भन्न नमिल्ने कारण के हो ?’

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट आईसकेको तर अहिले सार्वजनिक गर्न नमिल्ने बताए । उनले भने, ‘प्रारम्भिक रिपोर्ट आएको हो तर त्यसबाट मृत्युको कारण स्पष्ट नभएकाले भिसेरा रिपोर्ट पर्खिएका हौं । त्यो रिपोर्ट आएपछि सार्वजनिक गर्छौं ।’ उनले भिसेरा रिपोर्ट आउन भने केही समय लाग्ने बताए ।

ब्लाष्ट खबरबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय