
उर्लाबारी । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री तथा नेकपा (माओवादी) केन्द्रका नेता सुदन किराँतीले टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
मंगलबार मोरङको उर्लाबारीमा नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीले आयोजना गरेको बधाई शुभकामना तथा भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । असम्भव कुरा केही नभएको बताउँदै स्वार्थ त्यागेर अघि बढ्न सकेको धेरै कुरा परिवर्तन हुने उहाँको भनाई छ । निराशाको हुरी चलेको बेला आशा जगाउनु पर्ने अवस्था रहेको बताउँदै उहाँले भन्नुभयो –‘हिजो जीवन त्याग्नु पर्ने अवस्था थियो, आज निजी स्वार्थलाई तिलाञ्जली दिए पुग्छ ।’ उहाँले सरकारले काम गर्न सकिएन भनेर छुट पाउने अवस्था नरहेको बताउनुभयो । भ्रष्टचारको अन्त्य गर्न सबै जुट्न आवश्यक रहेको बताउँदै मन्त्री किराँतीले जनतालाई आशा जगाउने गरी काम गर्ने जमर्को गरिरहेको बताउनुभयो ।
विराटनगर विमानस्थलमा बन्ने नयाँ टर्मिनल भवन पूर्वी नेपालको हवाई क्षेत्रमा कोसेढुङ्गा बन्ने उहाँले बताउनुभयो । ३ अर्ब रुपैयाँ खर्चेर बन्ने नयाँ टर्मिनल भवन भैरहवा र पोखराको भन्दा ठूलो, आधुनिक र सुविधा सम्पन्न हुने उहाँको भनाई छ । उहाँले अन्र्तराष्ट्रिय विमानस्थल बन्दा पनि टर्मिनलले काम गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कुलप्रसाद साम्बा (कुशल), केन्द्रीय सल्लाहकार महेन्द्रजङ्ग तामाङ, प्रदेश सचिवालय सदस्य प्रेम मिभक, जिल्ला सचिव प्रकाश पौडेल, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेल, वाइसिएल नेपालका केन्द्रीय सदस्य दिपक आले मगर, मोरङ संयोजक राजिब लिम्बूलगायतको उपस्थिति रहेको थियो । पार्टीका उर्लाबारी नगर इन्चार्ज तारिलाल धिमाल (प्रवेश) को सभापतित्वमा भएको उक्त कार्यक्रम सञ्चालन नगरअध्यक्ष गजेन्द्र दंगालले गर्नुभएको थियो ।