उर्लाबारी । सामान्यतयाः संघीय सरकारमा मन्त्री आउने कार्यक्रमको जानकारी पाउने वित्तिकै प्रहरीको टोलीले स्कर्टिङ गरेर गन्तब्यसम्म पु¥याउने गरेको छ । प्रदेशका मुख्यमन्त्री होस् वा संघीय सरकारका मन्त्री आउँदा निकै तामझाम र सवारीको लावालस्करसहित प्रहरीको स्कर्टिङमा हुर्किने गरेका छन् । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती फरक तरिकाले प्रस्तुत हुनुभयो । प्रहरीको स्कर्टिङ विना नै मन्त्री किराँतीले सोमबार र मंगलबार मोरङ र झापाका कार्यक्रमहरुमा सहभागी बन्नुभयो । प्रहरीले आफ्नो जिल्ला भएर जाने मन्त्री वा विशिष्ट ब्यक्तिलाई सुरक्षा दिँदै आफ्नो जिल्ला पार गराउने गर्छ । मन्त्री किराँती बिना स्कर्टिङ कार्यक्रमहरुमा पुग्ने गर्नुभएको छ । सो क्रममा मन्त्री किराँतीले खादा र मालासमेत लगाउनुभएन ।
मन्त्री किराँतीको स्वागतमा कुनै कार्यक्रममा पनि तामझाम भएन । ‘सुरक्षाकर्मीको स्कर्टिङ नदेखेपछि मन्त्री आएको पनि पत्तै नहुने रैछ मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले भन्नुभयो– ‘मन्त्री किराँती बिना स्कर्टिङ, तामझाम विना कार्यक्रममा सहभागी बन्नुभयो, यो उदाहरणीय कार्य हो । सबैले यसको सिको गर्न सके जनतामा नेताप्रति विश्वास बढ्थ्यो । ’
झण्डा भएको गाडीमा मन्त्री र उच्च पदस्थ ब्यक्ति मात्र चढ्छन् भन्ने बुझेकाले मन्त्रीको गाडी भएको थाहा पाए पनि अन्य सर्वसाधारणलाई जानकारी नहुने गरेको उर्लाबारीका सविन घिमिरेको भनाई छ । उहाँले झण्डा देखेरमात्र मन्त्रीको गाडी भएको ठम्याउने गरेको बताउनुभयो ।
मन्त्री किरातीले मन्त्री पदमा पदवहाली गरेकै दिन आफ्नो स्वागतमा खादा, माला नल्याउन र त्यसवापतको रकम दान पेटिकामा सहयोग गर्न आब्हान गर्नुभएको थियो । दानपेटिकामा ७ दिनमा आफ्नो एक महिनाको र सचिवालयका ५ जनाको १५ दिनको तलबसहित ६ लाख ४ सय ३४ रुपैयाँ संकलन भएको मन्त्री किराँतीले जानकारी दिनुभयो । सो रकमबाट विपन्न क्षेत्रका विद्यालयमा अक्षयकोष स्थापना गरिने मन्त्री किराँतीले जानकारी दिनुभयो । सोमबार विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन गर्नु आउनु भएका मन्त्री किराँतीले जनयुद्ध दिवसको अवसरमा विराटनगर, पथरीशनिश्चरे, मिक्लाजुङमा आयोजित कार्यक्रममा सहभागी बन्नुभयो भने झापाको शिवसतासी नगरपालिकास्थित दोमुखामा पूर्वजनमुक्ति सेनाले आयोजना गरेको बृहत भेला कार्यक्रममा मन्त्री किराँती पुग्नुभयो । त्यस्तै, सोमबार राति मोरङ मिक्लाजुङ गाउँपालिकाले वडा नं. १ मा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री किराँती सहभागी हुनुभयो । मोरङको कर्णालीको रुपमा रहेको मिक्लाजुङ–१ को रमितेमा जनताकै घरमा मन्त्री किराँती बास बस्नुभयो । मिक्लाजुङको गुरुयोजना बनाएर मन्त्रालयमा पेश गर्न गाउँपालिकाका अध्यक्ष बबीकुमार राई र उपाध्यक्ष दिनेश पौडेललाई अनुरोध गर्नुभयो । मन्त्री किराँतीले मंगलबार मिक्लाजुङ–१ को पर्यटकीय स्थलको विकासका बारेमा वडाध्यक्ष पर्वत राईसँग कुराकानी गर्नुभयो । त्यस्तै, मिक्लाजुङ–३ को किरात माङ्हिमको निरीक्षण गर्नुभयो । सो क्रममा मन्त्री किराँतीसँग धार्मिक पर्यटकीय स्थलका बारेमा छलफलसमेत भएको छ ।
त्यस्तै, मंगलबार नेकपा माओवादी केन्द्र उर्लाबारीले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री किराँती सहभागी बन्नुभयो । मंगलबार नै झापामा समेत विभिन्न कार्यक्रमहरुमा सहभागी बन्नु भएको छ ।