
धरान । गत सोमबार सुनसरीको धरान ११ की २५ बर्षीया सोनी हाङ्गमा लिम्बुको रहस्यमय मृत्यु प्रकरणमा अनुसन्धानका क्रममा पक्राउ परेकी आमाजुलाई नै कोरोना सङ्क्रमण देखिएको छ ।
कोरोना पुष्टि भएपछि उनलाई घर पठाइएको छ । धरानमा संक्रमण पुष्टि भएका ७ जना मध्ये इलाका प्रहरी कार्यालयको थुनामा रहेकी ती महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।
सोनी हाङ्गमाको माइती पक्षले भने कोरोना सङ्क्रमण भए आइसोलेसनमा पठाउनु पर्नेमा पहुँचका भरमा घर पठाइएको भन्दै असन्तुष्टि जनाएको छ । सोनीका काका टेकराज तिगेला भन्नुहुन्छ,‘जसले हाम्रो छोरीलाई सँधै तनाव दिन्थ्यो । उही मुख्य अभियुक्तलाई घर पठाइयो । पहुँचको भरमा घरै बस्ने सुविधा दिएपछि हामीलाई न्याय पाइएला भन्ने आशा लाग्न छाड्यो ।’ उहाँले हालसम्म पोष्टमार्टम रिपोर्ट पनि सार्वजनिक नगरिंदा आशंका झन बढेको बताउनुभयो ।
ब्लाष्ट अनलाइनको सहयोगमा