
काठमाडौं । कार्यकाल सकिएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले मंगलबार औपचारिक बिदाइ गरेका छन् ।
मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको ४ वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् ।
कुलमानलाई पुनः प्राधिकरणमा नियुक्त गर्नुपर्ने जनदबाब भएपनि सरकारले त्यसबारे निर्णय नगरेपछि कुलमानको विदाई गरिएको हो । त्यसक्रममा कार्यकारी निर्देशकको दाबेदार मानिएका प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएर विदाई गरेका हुन् ।
कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेलले घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट भएको उल्लेख गर्दै सरकारले पुनः घिसिङलाई नियुक्ति गर्नेछ भन्ने आशा बाँकी नै रहेको बताउनुभयो । अबको १५ दिनभित्र फेरि स्वागत गर्न पाउने अपेक्षा उहाँले राख्नुभयो ।
प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले कुलमानलाई कार्यकारी निर्देशक र २६ बर्ष सेवा पूरा गरेको अवसरमा बिदाइ गरिएको बताउनुभयो ।
मुलुकलाई लोडसेडिङमुक्त बनाउन र घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लैजान योगदान गरेका घिसिङ पुनः एक कार्यकाल प्राधिकरणको नेतृत्व दिनुपर्ने आवाज उठिरहेको छ । तर, प्रधानमन्त्री केपी ओली सकारात्मक नभएकोले सरकारले उनको पुनः नियुक्तिको निर्णय गरिसकेको छैन