उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकालाई स्वच्छ, समृद्ध र समातामूलक बनाइने भएको छ ।
नवौं हिउँदे नगरसभाले स्वच्छ, समृद्ध र समातामूलक उर्लाबारी बनाउने निर्णय गरेको हो । दिर्घकालिन योजनाका साथ सो अभियान अघि बढाइने उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिनुभयो । पाँच बर्षे कार्ययोजना तयार पारेर अघि बढ्ने योजनाअनुसार तयारी भइरहेको उहाँको भनाई छ ।
उर्लाबारी नगरको आर्थिक, समाजिक, सांस्कृति तथा भौतिक विकासका लागि दिर्घकालिन सोचले निर्धारण लक्ष्य र उद्देश्यहरु प्राप्त गर्न तयार गरिएको ५ बर्षे आवधिक योजना स्वीकृत गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, उर्लाबारी–४ र ३ मा पर्ने बक्राहा खोलाको दुबैतर्फ (जलाउने) घाट निर्माण गर्ने निर्णय भएको उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार शव जमीनमा खाल्डो खनेर गाड्नका लागि समेत आवश्यक जग्गाको ब्यवस्थापनसहित घाट (गाड्ने) निर्माण गरिनेछ । आफ्नै रीतिरिवाज अनुसार शवको सद्गति गर्ने सकिने गरी घाट निर्माण गरिने उहाँको भनाई छ । यसअघि तत्कालिन उर्लाबारी नगरपालिकाको नगरप्रमुख खड्ग फागोको कार्यकालमा घाट निर्माणका लागि जग्गा ब्यवस्था र डिपिआर बनाउने कार्य भएको थियो । उहाँकै पालामा दुई पटक गौरबको आयोजनामा राखेर बजेट विनियोजन भएपनि काम अघि बढ्न नसकेको थिएन । यसपटक पनि १ करोड रुपैयाँ छुट्याइएको छ । नगरप्रमुख खरेलले बक्राहा घाट निर्माणको प्रक्रिया चाँडै अघि बढाउने जानकारी दिनुभयो ।
त्यस्तै, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई धनीपुर्जा वितरणको अन्तिम तयारी भइरहेको पनि नगरप्रमुख खरेलले जानकारी दिनुभयो । त्यसैगरी ठेक्का रद्द भएको साविककै विनियोजित शिर्षक र बजेटबाट नयाँ योजनाको रुपमा काम अघि बढाउने निर्णय भएको छ । जसमा उर्लाबारी– वडा कार्यालयदेखि स्वास्थ्य कार्यालय हुँदै मिक्लाजुङ जाने बाटो कालोपत्रेमा ३० लाख, उर्लाबारी–६ को होली चाइल्ड मार्ग कालोपत्रेमा ३५ लाख २९ हजार ४ सय १०.२८ र उर्लाबारी–४ को शान्ति मार्ग मावा पुल दक्षिण बेद विद्यामन्दिर जाने सडक कालोपत्रे १० लाख ५२ हजारको पुनः सूचना प्रकाशन गरी सञ्चालन गरिने उर्लाबारी वडा नं. ३ का वडाध्यक्ष एबं नगर प्रवक्ता भीष्मराज बुढाथोकीले जानकारी दिनुभयो । त्यस्तै, सडक बोर्डबाट सञ्चालन हुने योजनामा ५० लाखको याजनामा ५८ लाख विनियोजन भएको र बाँकी रहेको ८ लाख रुपैयाँबाट नगर क्षेत्रमा कालोपत्रे सडक मर्मत गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
त्यस्तै, उर्लाबारी नगर क्षेत्रि रहेका विभिन्न सार्वजनिक, ऐलानी र पर्ती जग्गाहरुको पहिचान तथा संरक्षण गर्दै विभिन्न प्रयोजनका लागि नगरपालिकालाई आवश्यक जग्गा प्राप्तिको लागि प्रकृया अगाडि बढाउने निर्णय भएको उहाँले बताउनुभयो । नदी, तटबन्ध गरिसकेको क्षेत्रमा नम्बरी जग्गावाहेकको नदी किनारका जग्गाहरु तत्काल नगरपालिकाले संरक्षण गरी आफ्नो मातहतमा ल्याउने निर्णय गरिएको छ ।
त्यस्तै, २०७३ सालमा उर्लाबारी नगरपालिका घोषणा हुँदा साविक मधुमल्ला गाविसको ७, ८ र ९ समायोजन भई क्षेत्र विस्तार हुँदा सो वडाभित्र रहेका सामुदायिक वनहरुले चर्चेको भूभाग साथै साविक उर्लाबारी गाबिस स्थापना कालदेखि भोगचलन गर्दै आएका नगर क्षेत्रभित्रका सामुदायिक वनहरु, सिमसार क्षेत्रहरु, नेपाल सरकारले जारी गरेको नक्सामा छुट्न गएकोमा सो क्षेत्रहरुसहितको नक्सा संसोधन गर्न प्रदेश र संघीय सरकारसँग पहल गर्ने निर्णय भएको छ । त्यस्तै, नगर न्यायिक समितिको प्रतिवेदन, सामाजिक विकास समितिको प्रतिवेदन, आर्थिक विकासको प्रतिवेदन, पूर्वाधार विकासको प्रतिवेदन, वन, वातावरण तथा विपद् ब्यवस्थापन समितिको प्रतिवेदन र सुशासन तथा संस्थागत विकासको प्रतिवेदन स्वीकृत भएको छ । ६२ वटा योजनाको शिर्षक संसोधन भएको छ भने ३५ वटा योजनामा बजेट थप गरिएको छ । त्यस्तै, स्थानीय वन विधेयक २०७९, दिसाजन्य लेदो ब्यवस्थापन विधेयक २०७९, आर्थिक (पहिलो संसोधन) विधेयक २०७९ र निवियोजन (पहिलो संसोधन) विधेयक २०७९ स्वीकृत भएको छ ।
त्यस्तै, साविकको आय ब्ययको अनुमान १ अर्ब ५ करोड ४३ लाख ४ हजार ९ सय १९ र संशोधित आय ब्ययको अनुमान १ अर्ब १० करोड ७३ लाख ८४ हजार ७ सय ७२ स्वीकृत गरिएको छ । उर्लाबारी नगरपालिकाको साविकको दरबन्दी १ सय ४५ मा संशोधित दरबन्दी १ सय ८३ स्कीकृत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय