उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघले इलामका व्यवसायी प्रेम प्रसाद आचार्यको आत्मदाह र विराटनगरका व्यवसायी मोहन प्रसाद न्यौपानेको आत्महत्याको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
आत्महत्या गर्नुमा बैंकको ब्याज र देशको आर्थिक अवस्था भयावह हुनु प्रमुख कारण रहेको भन्दै उद्योग वाणिज्य महासंघले भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष शेरबहादुर भण्डारी र महासचिब हेमराज गुरुङले आज एक विज्ञप्ति जारी गर्दै दुइदिन अघि सूर्योदय, इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले खुलेआम आत्मदाह गर्दै सामाजिक सन्जालमा पोष्ट गरेका यथार्थ वेदनाबाट समेत अहिले व्यवसायको अवस्था के रहेछ भन्ने खुलस्त देखिएको उल्लेख गरिएको छ ।
‘देशमा प्रेमप्रसाद आचार्य, मोहन न्यौपाने जस्ता कैयन व्यवसायीहरु पिडामा छन् र भविष्यमा यस्ता घटना नदोहोरिएला भन्न सकिन्न । सरकारको नीतिकै कारण आज व्यवसायीहरुले अनेकौं समस्याहरु झेल्दै आएको हामीले महसूस गरेका छौंं,’ विज्ञप्तिमा उल्लेख छ, ‘अतः व्यवसायीहरुलाई आफ्नो कारोवार निर्धक्क रुपमा गर्ने वातावरण बनाउन र भविष्यमा यस्ता घटना दोहरिन नदिन नेपाल सरकार लगायत सम्वन्धित निकायमा अनुरोध गर्दछौं ।’