उर्लाबारी । पथरीशनिश्चरे नगरपालिकाले दोहोरो स्वामित्वको जग्गाको मालपोत नगर र मातहतका कार्यालयबाट नलिने निर्णय गरेको छ । बिहीबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी १२ औं नगरसभाबाट सो निर्णय भएको जानकारी गराइएको हो । पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा २०३६ साल अगावैदेखि बसोबास र जोतभोग गरिरहेका तर, उक्त जग्गाको जग्गा धनी प्रमाण पुर्जा अर्कै व्यक्तिले प्राप्त गरेको अवस्था रहेकाले त्यस प्रकृतिको जग्गाको मालपोत नगरपालिका र मातहतका कार्यालयबाट लिँदा सोही प्रमाण मानी विभिन्न वित्तिय संस्थाबाट ऋण कारोबार हुन गई थप जटिलता उत्पन्न हुने भएकाले १२ औं नगरसभा जग्गाको मालपोत लिने निर्णय भएकोे नगर प्रवक्ता एवम् पथरीशनिश्चरे वडा नम्बर ८ का वडाअध्यक्ष नविनजंग कार्कीले बताउनुभयो । नगरले दोहोरो स्वामित्व रहेका जग्गामा जोतभोगका आधारमा बसोबास गर्ने व्यक्तिलाई जग्गा धनि प्रमाण पूर्जा प्राप्त गर्नका लागि संघीय र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।
नगरसभाले पथरीशनिश्चरे नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७९ र पथरीशनिश्चरे नगरपालिकाको शिक्षा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९ पास गरेको उहाँले बताउनुभयो । उक्त विधेयक नगरको राजपत्रमा प्रकाशित भएपछि मात्र लागू हुनेछ । यसले नगरको विपत न्यूनीकरण र शिक्षाको सुधारमा महत्वपूर्ण भूमिका खेल्ने कार्कीले बताउनुभयो । यस्तै, नगरसभाले सर्पदंश उपचारका लागि दमक, लेटाङलगायतका स्थानमा पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न नगर अस्पतालबाट सर्पदंश उपचार सेवा प्रवाहका लागि प्रकृया अगाडी बढाउने निर्णय गरेको छ । सर्पदंश उपचार सेवा सञ्चालनका लागि आवश्यक अध्ययन गरी प्रक्रिया अगाडि बढाइने नगर प्रवक्ता कार्कीले बताउनुभयो । यस्तै, उक्त सम्मेलनमा हेफर नेपालसँग साझेदारी कार्यक्रम सञ्चालन गर्ने समेत जानकारी दिईएको छ । हेफरले सामाजिक सशक्तिकरण र आर्यआर्जन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


यस्तै नगरको पश्चिमतर्फ वग्ने डाँस खोला र पूर्वतर्फ बग्ने सुनझोडा र वक्राह खोलाको नदीजन्य पदार्थ उत्खनन र संकलनको सम्बन्धमा छिमेकी पालिकाहरुसँग समन्वय गर्ने नगर प्रमुख मोहन तुम्वाफोले बताउनुभयो । नगरसभाले नगरपालिकाले पूर्व र पश्चिम बस विसौनी छेउमा सार्वजनिक शौचालय निर्माण गर्ने पनि निर्णय गरेको छ । त्यस्तै, नगरपालिकाको पार्किङ रहेको स्थानमा वडा नं. १ को भवन निर्माण गर्ने प्रक्रिया रहेकाले नगरको भवनभन्दा उत्तरतर्फ रहेको जग्गामा कम्पाउण्ड तथा टहरा निर्माण गरी पार्किङ बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । नगरपालिकाले आ.व. २०७८ ।०७९ को स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा ७४ र स्थानीयत तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ६७ अंक प्राप्त भई कार्यपालिका बैठकबाट निर्णय भएकाले नगरसभाबाट अनुमोदन गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।
त्यस्तै, ११ औं नगरसभाले विनियोजन गरेको स्रोतगत बजेटमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ १ लाख ८३ हजार ६ सय ४०, संघीय सरकार राजस्व बाँडफाडतर्फ ५ करोड ५९ लाख ४६ हजार १ सय ५०, प्रदेश सरकारबाट प्राप्त राजश्व बाँडफाँडतर्फ ४८ लाख ४८ हजार ५ सय र मालपोत कार्यालयबाट प्राप्त हुने स्थानीय राजश्व १ करोड ७० लाख कम प्राप्त हुने अनुमाग गर्दा ७ करोड ७९ लाख ४८ हजार २ सय ९० आय घटी हुने देखिएकाले सोही अनुसार योजना तथा कार्यक्रममा बजेट संसोधन गरिएको जानकारी गराइयो । पौष मसान्तसम्मको प्रस्तुत प्रगति विवरणमा नगर अधिवेशनले गए आर्थिक वर्षबाट पारित बजेट संशोधन गरिएको छ । पौष मसान्तसम्म चालुतर्फ ३९ र पुँजीगततर्फ १९ प्रतिशत खर्च भएको उल्लेख छ । यो अवधिमा ७६ जना विरामीलाई १५ हजारको दरले उपचार खर्च वितरण गरिएको उल्लेख छ ।
नगरप्रमुख मोहन तुम्बापो, उपप्रमुख देविमाया काफ्ले, वडा अध्यक्षहरु भीम राई, नैना राई, जीवन खतिवडा, उद्धवराज बस्नेत, कार्यपालिका सदस्यहरु, कर्मचारीहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ नगरप्रमुख तुम्बाहाम्फोसहित विषयगत शाखा प्रमुखहरुलगायतले दिनुभएको थियो । नगरपालिकाका सूचना संयोजक सन्तोष राईले सहजीकरण गर्नुभएको थियो । नगरपालिकाले प्रशासन सेवातर्फ प्रशासन सहायक पदमा कार्यरत कुकनाथ पोखरेल उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशी ३० हजार रहेको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय