उर्लाबारी । मोरङको उर्लाबारीमा यही माघ २१ देखी २९ गतेसम्म सञ्चालन हुने औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव – २०७९ को तयारी ब्यापक पारिएको छ ।
मुख्य आयोजक उर्लाबारी उद्योग वाणिज्य संघले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरी ९ दिनसम्म संचालन हुने प्रदेशस्तरीय महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने र २५ करोड बढीको कारोबार हुने लक्ष्य राखिएको जनाएको छ । उर्लाबारी– ४ नगरपालिका कार्यालय पुर्वपट्टि संचालन हुने महोत्सवले नेपाललगायत छिमेकी राष्ट्रहरुको लगानीकर्ता, उत्पादक, वितरक, नियातकर्ताहरुलाई एउटै मञ्चमा भेला गराई सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउने महोत्सवका संयोजक भरत भट्टराईले जानकारी दिनुभयो ।
महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्लाका खनिजजन्य, स्थानीय कृषिजन्य र अन्य उत्पादनहरु समेत गरी १ सय ७० स्टलहरु रहने महोत्सवका सह–संयोजक प्रितम खड्गीले बताउनुभयो । महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगितिक क्षेत्र, वाल उद्यान तथा मनोरञ्जन रहने उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीले बताउनुभयो ।
महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ । उर्लाबारी उद्योग वाणिज्य संघ मुख्य आयोजक रहेको महोत्सवमा उर्लाबारी नगरपालिका संरक्षक, छिमेकी नगरपालिका तथा गाउँपालिका, प्रदेशका विभिन्न मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, सञ्चार क्लब उर्लाबारीसँग समन्वय गरी आयोजना गरिएको संघका महासचिव हेमराज गुरुङले जानकारी दिनुभएको छ । अन्तर्राष्ट्रिय स्तरको यस महोत्सव तथा प्रदर्शनीले उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध राखी औद्योगिक तथा व्यापारिक चहल पहल बढाई आर्थिक जगत लाभान्वित हुने आयोजकले अपेक्षा गरेको छ ।
ADVERTISEMENT