
उर्लाबारी । जातीय विभेदसहित कुटपिट भएको घटनाको पीडितले दिएको जाहेरी प्रहरीले दर्ता गरेको छ । स्थानीय छिमेकीले दलित भएको कारण गालीगलौज गरेर कुटपिट गरेको विरुद्धमा उर्लाबारी- ४ थापाडाँगीकी दुर्गाकुमारी रोकाले दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो । यसअघि प्रहरीले जाहेरी लिए पनि दर्ता गर्न आनाकानी गरेको थियो ।
मोरङको उर्लाबारी नगरपालिका- ४ स्थित थापाडाँगिमा १२ वर्षीया बालिका फूलसरी मंग्रान्तीलाई दलित भएकै कारण होच्याउँदै कुटपिट गरेका थिए । योसम्बन्धी समाचार प्रकाशित भएपछि प्रहरीले जाहेरी दर्ता गरेको छ । उनकी संरक्षक दुर्गाकुमारीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा जातीय विभेद तथा छुवाछुत कसूर गरेको अभियोगमा जाहेरी दर्ता भएकी हुन् । प्रहरीले जाहेरी लिएपछि दुर्गाकुमारीले न्यायको आश जागेको प्रतिक्रिया दिइन् ।
‘हिजो दर्ता गर्न नमान्दा त प्रहरी पनि हाम्रा पक्षमा नहुने रहेछन् भन्ने लागेको थियो,’ उनले भनिन्, ‘अधिकारकर्मी र पत्रकारले दबाब लिएपछि जाहेरी लियो । अब न्याय पाउँछु भन्ने आस छ ।’
जाहेरी दर्ता गरे पनि पीडक पक्ष र जनप्रतिनिधिले मिलापत्र गर्न भन्दै जाहेरी फिर्ता लिन दबाब दिइरहेको उनहरूको गुनासो छ । उनीहरूले अधिकारकर्मी र पीडित पक्षलाई भेटेर समाजमा फेरि पनि बस्न पर्ने भन्दै दबाब दिइरहेका पीडितको भनाइ छ ।
मोरङको उर्लाबारी- ४ थापाडाँगीकी १२ वर्षीय असहाय बालिका फूलसरी मंग्रान्ती(सार्की) माथि २२ भदौमा जातीय रूपमा होच्याउँदै कुटपिट भएको थियो । छिमेकी नन्दलाल श्रेष्ठ, उनकी श्रीमती निर्मला र उनका छोरा अम्वीर श्रेष्ठले दलित बालिका घरभित्र पसेको भन्दै २२ भदौ सोमबार निर्घात कुटपिट गरेका पीडितको आरोप छ । कुटपिटबाट बालिकाको शरीरभरि नीलडाम र भित्री चोट लागेको छ ।
चिसो पानी (आइस) लिन छिमेकी तुलसा खतिवडा श्रेष्ठको घरमा गएकी फूलसरीलाई उनीहरूले कुटपिट गरे पीडित बालिकाको आरोप छ । तल्लो जातकी बालिका घरभित्र पसेको भन्दै उनीहरूले जातीय रूपमा होच्याउने शब्द प्रयोग गरेर गालीगलौज गर्दै कुटपिट गरेका उनको भनाइ छ । पीडित बालिकाका आमाबुबा बेपत्ता छन् । उनी उर्लाबारी- ४ स्थित आफन्त दुर्गाकुमारी रोक्काकहाँ बस्दै आएकी छन् । रोकाको परिवारलाई यसअघि पनि श्रेष्ठ परिवारले जातीय रूपमा होच्याउँदै आएको बताइएको छ । ‘केही महिना पहिले पनि कुटेका थिए । छिमेकी भएकाले उनीहरूकै घरको बाटो हिँड्नुपर्छ,’ उनले भनिन्, ‘त्योबाटो हिँड्दा पनि जातकै कुरो निकालेर थुक्छन् । गाली गलौज गर्छन् । यसपटक सानो नानीको चोट लागेको ठाउँमा सेक्न आइस लिन गएको बेला तँ सर्किनी श्राद्धका बेला हाम्रो घरमा किन पसेको भन्दै कुटपिट गरे, छुट्याउन जाँदा ममाथि पनि हातपात गरे ।’
सोमबार पनि बालिका फूलसरीलाई जातीय रूपमा होच्याउँदै श्रेष्ठ परिवारका आमाछोराले कुटपिट गरेको दुर्गाको आरोप छ । फूलसरीलाई कुटपिट गर्दै गर्दा छुट्याउँदै दुर्गाकुमारीमाथि समेत कुटपिट भएको थियो ।