![](https://www.purbicommand.com/wp-content/uploads/2023/01/ghanshyam.jpg)
काठमाडौं । घनश्याम भुसालले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका गरेका छन् । शुक्रबार काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा एकीकृत समाजवादी प्रवेश गरेको घोषणा गरेका हुन् ।
भुसालले नेकपा एकीकृत समाजवादी सैद्धान्तिक वैचारिक रूपमा तत्कालीन नेकपाको खास उत्तराधिकारी रहेकाले आफूले यो पार्टी रोज्नुपरेको बताए । भुसाल गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी एमालेका सचिव समेत रहेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
भुसालले नेकपा एकीकृत समाजवादीले वाम एकताका लागि गठन गरेको वार्ता समितिसमक्ष ५ बुँदे प्रस्ताव राखेका थिए । भुसालको प्रस्तावलाई एकीकृत समाजवादीले स्वागत गरेपछि उनी पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेशको घोषणा गर्दै भुसालले नेकपा विभाजनका कारण मुलुकले समृद्धि र विकास गर्ने अवसर गुमाउनु परेको बताए ।
उनले एमालेले जनताको बहुदलीय जनवादको हुर्मत लिएको आरोप समेत लगाए । भुसाललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन् ।