
उर्लाबारी । उर्लाबारी नगरपालिकाले लकडाउनलाई आंशिक रुपमा खुकुलो पार्दै भाद्र २८ गते आईतबारसम्म दिउँसो २ बजे सम्म मात्र बजार खुल्ला गरेको छ ।
आज भाद्र २२ गते देखि एक साता सम्म दिउँसो २ बजे सम्म मात्र बजार, बैक, रेमिट्यान्स, सहकारी सहितका सेवाहरु संचालन गर्न पाउने भएका हुन् । कोभिड–१९ सँग सम्वन्धित सुरक्षाका मापदण्ड माक्स र सेनिटाईजर अपनाई बजार, बैक, रेमिटयान्स, सहकारी संस्थाहरु संचालन गर्न पाईने र उक्त बिधी नअपनाएमा तुरुन्त कारवाही गर्ने समेत उपमेयर तथा अनुगमन समितिकी संयोजक लक्ष्मीदेवी भण्डारीले बताउनुभयो ।
उर्लाबारी प्रवेश गर्ने सवारी तथा सामग्रीमा २४ घण्टा निगरानी गरी चालक र सहयोगीको स्वास्थ्य चेकजाँच गरेर मात्र प्रवेश दिने, कृत्रीम बजार सृजना गरी मुल्यृवृद्धि गर्ने व्यवसायीलाई कार्यवाही गर्ने, होटल तथा रेष्टुेन्टहरुले साँझ ७ बजे सम्म खुल्ला गरी होमडेलीभरीको प्रवन्ध मात्र गर्ने, नगर क्षेत्रमा मात्र जोर बिजोर प्रणाली अनुसार सवारी साधन संचालन गर्ने र स्थानिय हाट बजार, सैलुन, पार्लर, फुटसल, लज, पार्क, सभा सम्मेलन आदी पूर्ण रुपमा बन्द रहने जनाइएको छ ।
नगरले पछिल्लो समयमा छिमेकी नगरपालिकाहरुमा संक्रमितको संख्या बढ्न थाले पछि दोस्रो पटक श्रावण २५ गते राती १२ देखि लकडाउन गर्दै आएको र समुदाय स्तरमा संक्रमण नभएका कारण नगरबासीकोे आवश्यकता र मागलाई ध्यानमा राखी सुरक्षाका विधी अपनाई क्रमिक रुपमा बजार खुल्ने अवधी बृद्धि गर्दै लैजाने बताउँदै नगर प्रमुख खड्ग फागोले अवस्थामा थप सुधार आएमा लकडाउनलाई खकुलो पार्ने निती नगरको भएको बताउनुभयो ।