सिजुवा/मोरङको रतुवामाई नगरपालिकाले नागरिकहरुको हितमा निकै लोकप्रिय कार्यक्रम ल्याएको छ । यस नगरपालिकाले खासगरी कृषि र स्वास्थ्य क्षेत्रमा लोकप्रिय कार्यक्रम ल्याएको हो ।

यस नगरपालिकाले रतुवामाईका जो–कोही नागरिक विमारी परेमा अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ । झापा, मोरङ र सुनसरी जिल्लामा सञ्चालित अस्पतालहरुमा विमारी लैजानु परेमा निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

त्यतिमात्र होइन, विपन्न परिवारका विमारीहरुको उपचारार्थ नगरपालिकाले आर्थिक सहयोग समेत गर्दै आएको छ । साथै विपन्न परिवारका कुनैपनि सदस्यको निधन भएमा क्रिया खर्च वापत नगरपालिकाले १० हजार रुपैयाँ उपलब्ध गराउँदैआएको छ ।

त्यसैगरी प्राणघातक रोग लागेका विमारीहरुलाई यातायात खर्च समेत नगरपालिकाले उपलब्ध गराउँदै आएको जनाइएको छ ।

यस नगरपालिकाले ८० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकहरुलाई मासिक एक हजार रुपैयाँ पोषण भत्ता समेत उपलब्ध गराउन थालेको नगर प्रमुख नागेश्वरप्रसाद सिँह गनगाईले जानकारी दिए ।

यस नगरपालिकामा हाल आठ सय ३७ जना ८० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक रहेका छन् । उनीहरुलाई सामाजिक सुरक्षा भत्ता जस्तै गरेर पोषण भत्ता पनि बैंक खातामा जम्मा गर्नेगरिएको नगरपालिकाले जनाएको छ ।

यस नगरपालिकाले कृषकहरुलाई सिंचाई, बिउबिजन र अन्य प्रविधिहरु समेत सहयोग प्रदान गर्दैआएको छ ।

यस नगरपालिकाले नागरिकहरुले उत्पादन गरेका फोहोरमैला समेत निःशुल्क रुपमा विर्सजन गर्दैआएको छ । फोहोर विर्सजनका लागि ट्याक्टर र सडक तथा कुलो मर्मत सम्भारका लागि डोजर परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरका वडा वडामा नगर प्रहरी राखी नागरिकहरुको सेवामा परिचालन गरिएको सो नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय