ललितपुर। ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्रा छोट्याउने सहमति भएअनुसार आज रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ ।

स्थानीय बासिन्दाले छ्वयलाभू बनाउने भएका छन् । स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले रातो मच्छिन्द्रनाथको रथलाई अहिले राखिएको ठाउँबाट अलि पर तानिने भएको छ ।

गा:बहालमा राखिएको मीननाथको रथलाई पुल्चोकसम्म तानिनेछ। दुवै रथलाई तानेर सोह्रखुट्टे पाटीसम्म पुराइनेछ ।

रथलाई​ साङ्केतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म तानेको मानेर सबै क्षेत्रका बासिन्दाले आज आइतबार छ्वयलाभू र भोलि सोमबार भुज्या मनाउनेछन् ।

यसपालि साङ्केतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म एकैचोटी रथलाई तानिन लागेकोले गाः बहाल जात्रा व्यवस्थापन समिति, वछुत्वा नुगः जात्रा व्यवस्थापन समिति, लंगया बुंगद्यः जात्रा व्यवस्थापन समिति र जावलाख्यः जात्रा व्यवस्थापन समितिका ४०, ४० जना गरेर १६० जनाले रथ तान्ने भएका छन् ।

रथ तान्नको लागि उनीहरु आज दिउँसो ३ बजे गा: बहालमा भेला हुने छन् । रथ तान्नेहरुको पहिचानको लागि काय्गुननी टोलले १६० वटा टिसर्ट र १६० वटा टोपीको व्यवस्था गर्ने भएको छ।

स्वास्थ्य सुरक्षाका लागि पाँच सय वटा मास्क, पन्जा र भाइजर तथा १५ लिटर स्यानिटाइजर व्यवस्था गरिने भएको छ। ५ जोर धिमे बाजा बजाउनको लागि २० जना, काः बाजा बजाउने ४ जना र २ जोर नायखिं बाजा बजाउनको लागि ४ जनाको टोली तयार गरिने भएको छ । रथलाई हपाः दिने जिम्मा काय्गु ननी टोलले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय