उर्लाबारी । लामो समयदेखि लकडाउनले समस्यामा परेकाहरुलाई खाद्यान्य वितरण गर्न देशका विभिन्न स्थानहरुमा फुड बैंक स्थापना हुन थालेका छन् । सहयोगी भावनाले खोलिएका फुड बैंकका विपन्न वर्गका लागि वरदान सावित बनिरहेका हुन् ।
कोरोना भाइरसको संक्रमण रोक्नका लागि स्थानीय तहहरुले लकडाउन गरिरहेका छन् । लामो समयदेखि लकडाउन जारी रहँदा देशैभरी विपन्न वर्ग प्रभावित बनिरहेका छन् । सोही कुरालाई मध्यनजर गरेर देशका विभिन्न स्थानहरुमा फुड बैंकमार्फत खाद्यान्य वितरण पनि भइरहेको छ भने कतिपय ठाउँमा खाना खुवाउने कार्यक्रम भइरहेको छ । यसैलाई मध्यनजर गरेर मोरङको उर्लाबारीमा पनि फुड बैंक स्थापना भएको छ । हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं, कोही पनि भोकै नबसौं भन्ने मुल नाराको साथ सुरु भएको फुड बैंकको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गर्नुभयो । उर्लाबारी–७ स्थित नारी संकल्प साकोसको नेतृत्वमा आधा दर्जन बढी संस्थाको साझेदारीमा भएको उक्त कार्यक्रमको पहिलो दिन ६० जनालाई सहयोग गरिएको छ । ५ केजी चामल, तेल, नुन, दाल र निउटौला प्रदान गरिएको नारी संकल्प साकोसकी सावित्रा तामाङले जानकारी दिनुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले लकडाउनका कारण अशक्त तथा विपन्न समुदाय प्रभावित बनेको बताउँदै फुड बैंक सहयोगी बन्नेमा आशाबादी रहेको उल्लेख गर्नुभयो । पहिलो चरणमा नगरपालिकामार्फत विपन्न तथा अशक्तलाई राहत वितरण गरिसकेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बीरबल थापाले उदारणीय कार्यको सुरुवात भएको भन्दै प्रशंसा गर्नुभयो । विपन्न, श्रमिक तथा अशक्त परिवारलाई यो कार्यक्रम लाभदायी हुने अपेक्षा लिएको उहाँको भनाई छ ।
फुड बैंक कार्यक्रमकी संयोजक एबं नारी संकल्प साकोसकी अध्यक्ष सीता कार्कीले कोही पनि लकडाउनका कारण भोकै बस्नु नपरोस् भन्ने हेतुले कार्यक्रम गरिएको बताउनुभयो । लकडाउन भरी फुड बैंक सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन संस्थाकी सचिब निर्मला घलेले गर्नुभएको थियो । यसअघि उर्लाबारी–३ मंगलबारेमा पनि मंगलबारे युवा समूहले फुड बैंक सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय