पौडी पारखीहरुका लागि उत्कृष्ट गन्तब्य बन्दै गएको छ, बेतेनी सिमसार क्षेत्र । मोरङको मिक्लाजुङ–६ मा रहेको उक्त सिमसार क्षेत्रमा दैनिक सयौं संख्यामा पौडी खेल्न आउने गरेका छन् ।
गर्मी मौसमसँगै पौडी खेल्न आउनेको संख्या अधिक रहने गरेको स्थानीय बताउँछन् । ४ विघा क्षेत्रफलमा फैलिएको पोखरीमा पौडी खेल्नका लागि एउटा छुट्टै पोखरी निर्माण गरिएको छ भने अर्को पोखरी माछापालनका लागि तयार पारिएको मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बुद्धिलाल निरौलाले जानकारी दिनुभयो । मिक्लु सामुदायिक वनको हाताभित्र रहेको उक्त सिमसार पौडीका लागि उपयुक्त स्थान भएको उर्लाबारीका सामाजिक ब्यक्तित्व सर्वजित भण्डारीको भनाई छ । चिसो र सफा पानी भएका कारण पनि यहाँ पौडीको मज्जा लिन जोकोही चाहन्छन् । उर्लाबारी, मिक्लाजुङ, पथरीशनिश्चरे, दमकलगायकबाट पौडी खेल्नका लागि आउने गरेका छन् । मिक्लाजुङ गाउँपालिका र राष्ट्रपति चुरे संरक्षणको १५÷१५ लाख रुपैयाँ लागतमा पोखरीसहित पौडी खेल्ने स्थान तयार भएको वडाध्यक्ष निरौलाको भनाई छ । उक्त स्थानको गुरु योजना तयार गरी पर्यटकीय स्थल बनाउन लागि परेको उहाँले बताउनुभयो । चारकोसे जंगलले घेरेको उक्त स्थान वनभोजका लागि पनि आकर्षक गन्तब्य बन्न सक्ने देखिन्छ ।
कसरी पुग्ने ?
पूर्वपश्चिम राजमार्गको मोरङको उर्लाबारी–४ को किसान चौकबाट निजी सवारी साधन तथा अटोमा उक्त स्थान पुग्न सकिन्छ । किसान चौक हुँदै कान्छी चौकदेखि केही माथीसम्म बिग्रेको भएपनि सडक कालोपत्रे छ । मिक्लु खोला पार गरी केही पूर्वतर्फको बाटो जानुपर्छ । त्यसपछि उत्तरतर्फको सडकमा मोडिनु पर्छ । ग्राभेल गरिएको उक्त सडकबाट सहज रुपमा त्यहाँ पुग्न सकिन्छ । करिब उर्लाबारीबाट ५ किलोमिटरमा उक्त स्थान पुग्न सकिन्छ । मधुमल्ला बजारबाट पनि यहाँ सहज रुपमा आउने ग्राभेल सडक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय