
काठमाडौँ । ललितपुरको पुल्चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि बिहीबार कुटपिट गर्ने ९ जनामाथि अनुसन्धान गर्न प्रहरीले ७ दिनको म्याद पाएको छ ।
ललितपुर जिल्ला अदालतले उनीहरुमाथि अनुसन्धान गर्न ७ दिनको म्याद दिएको हो ।
प्रहरीले उनीहरुमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्नेछ । घिमिरेमाथि हातपात गर्ने ९ जनालाई प्रहरीले बिहीबार नै पक्राउ गरेको थियो ।
प्रहरीले ललितपुर मनपा १६ का ४० वर्षीय महेश बज्राचार्य, ललितपुर ११ का ३९ वर्षीय पृथविन्दु महर्जन, वडा नं. २१ का ३८ वर्षीय अशोज कुमार महर्जन, वडा नं. ६ का ३६ वर्षका रवि शाक्य, वडा नं. १६ का ४० वर्षीय रविन शाक्य, महालक्ष्मी नपा १ का सुविन शाक्य, इमाडोलका ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमीका श्या श्रेष्ठ र कामनपा १६ का यादवलाल कायस्थमाथि अनुसन्धान गर्न म्याद पाएको हो ।
निषेधाज्ञा र महामारीका बीच सरकारको निर्देशनलाई उल्लंघन गर्दै रातो मत्स्येन्द्रनाथको रथयात्रा तान्ने क्रममा प्रहरीसँग झडप भएपछि आक्रोशित भीडले प्रहरी जवान घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो ।