उर्लाबारी । मोरङको उर्लाबारी–२ स्थित बेतिनी सिमसार वनभोजका लागि उत्कृष्ट गन्तब्य बन्दै गएको छ ।
बेतिनी सामुदायिक वनको हाताभित्र रहेको सो सिमसार क्षेत्र वनभोजका लागि उत्कृष्ट गन्तब्य बन्दै गएको हो । विशेष गरी जाडो मौसम सुरु भएसँगै यहाँ वनभोजका लागि विभिन्न जिल्लाहरुबाट आउने गरिएको छ । वनभोजका लागि भारतबाट पनि यहाँ आउने गरेका छन् । धेरैजसो मोरङ, झापा र सुनसरीबाट वनभोजका लागि वेतिनी सिमसारमा आउने छन् ।

समितिले वन भोजमा आउने आगन्तुकहरुका लागि टहरा, पानी, विजुली, शौचालयलगायतको ब्यवस्था मिलाएको छ । एकान्त वातावरण भएका कारण पनि यहाँ वनभोजमा रमाउन आउनेको संख्या अधिक हुने गर्छ । मंसिरदेखि फागुनसम्म नै सो क्षेत्रमा घुम्न आउने र वनभोज खानेको घुइँचो नै लाग्ने गर्छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत उर्लाबारी–३ मंगलबारे चौकबाट करिब ३ किलोमिटर उत्तरमा रहेको यो सिमसार क्षेत्रमा दैनिक ५ सय जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको बेतिनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भीम राईले बताउनुभयो । सो सिमसार क्षेत्र ५८ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।


आकर्षक पोखरी, बाल उद्यानलगायत यहाँ रहेका छन् । सो सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, हर्रा, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टाइ, हाँडीफोर, बकुल्लालगायत चराचुरुंगी पाइन्छ । उक्त स्थान आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिंगरलगायत जीवजन्तु पाइन्छ । सिमसार प्रवेशका लागि प्रतिव्यक्ति १० शुल्क तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय