
उर्लाबारी । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको मोरङको उर्लाबारीमा उप–इकाईगत साधारणसभा सम्पन्न भएको छ ।
उर्लाबारी–५ स्थित नेपाल बौद्ध गुम्बाको सभाहलमा आज साधारणसभा भएको हो । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्था अध्यक्ष रामचन्द्र उप्रेतीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने लेखा समितिका संयोजक विष्णु गौतमले लेखा प्रतिवेशन प्रस्तुत गर्नुभयो । १ लाख ३५ हजार ७ सय १७ जना शेयर सदस्य रहेको उक्त सहकारी झापा, मोरङ र इलाममा कार्यक्षेत्र रहेको छ । सहकारीको ५४ वटा वित्तिय सेवा केन्द्र, ६ वटा क्षेत्रीय उपसमिति, ४ वटा चिया ब्यवसाय केन्द्र रहेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । २०५० सालमा २ लाख ५३ हजार शेयरपूँजीबाट सुरु भएको यो सहकारीको १ अर्ब ३५ करोड, ५८ लाख ९५ हजार पुगिसकेको छ । सहकारीले डेरी ब्यवसाय, एकीकृत नमूना कृषि फार्म, सहकारी पसल, चिया ब्यवसायलगायत अघि बढाएको छ । सदस्य शिक्षा र तालिम, विद्यालयसम्म संस्थाको पहुँज, उच्च शिक्षाका लागि छात्रबृत्ति, सदस्य फाइल ब्यवस्थापनलगायत पनि गरिरहेको छ । सहकारीको लगानीमा रहेको कर्जा १० अर्ब ४४ करोड ५७ लाख, ८ हजार, निक्षेप ८ अर्ब ७२ करोड, ३१ लाख १६ हजार, स्थिर सम्पति २० करोड १७ लाख ५५ हजार, कुल सम्पति ११ अर्ब, २६ करोड ७८ लाख ४६ हजार, कुल आम्दानी १ अर्ब ४० करोड, ३३ लाख ५२ हजार, कुल खर्च १ अर्ब २० करोड ४१ लाख ९४ हजार र नाफा १९ करोड ९१ लाख ५८ हजार रहेको छ ।