
सरोज बस्नेत
मधुमल्ला÷ विगत लामो समय देखि निर्माण कार्य सुरु भई अलपत्र अवस्थामा रहेको उर्लाबारी मधुमल्ला रबि सडक खण्डको उर्लाबारी–मधुमल्ला–तोरीबारी सडक खण्डको अधुरो सडक मर्मत सुरु भएको छ ।
मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाको विषेश पहल तथा उर्लाबारी नगरपालिका, मिक्लाजुङ गाउँपालिका र स्थानीयबासी निरन्तरको दबाबमा सकडको निर्माण कार्य सुरु भएको हो । ०६९ जेठ ४ मा तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी काठमाडौंको प्रेरा–ज्योति जेभीले सो सडक ठेक्का लिएको थियो । कुल लागत ८ करोड ९४ लाख रुपैयाँमा ठेक्का लागेको थियो । उर्लाबारी–मधुमल्ला–तोरीबारी १२.४ किलोमिटर सडक कालोपात्रेसहित निर्माणका लागि सरकारले ०६८ फागुनमा टेन्डर आब्हान गरेको थियो । उक्त कन्ट्रक्सनले काम पुुरा नगरी अलपत्र अवस्थामा छोडेको थियो । सो सडक निर्माण सम्पन्न नहुँदै भत्किन थलेकोे भन्दै स्थानीयले गुणस्तरीय काम गर्न बिभिन्न सरोकारवाला निकायमा बारम्बार धाएका थिए । स्थानीयको दबाबका बावजुत पनि ठेकेदार कम्पनीले काम गरेको थिएन । ठेक्काको जिम्मा लिई काम गरेको ज्योति कन्ट्रक्सनले गुणस्तरीय र सम्झौता अनुसारको काम नगरेकाले अब सो अधुरो रहेको काम प्रेरा कन्ट्रक्सनले गर्ने प्रेरा कन्ट्रक्सनका प्रतिनिधि भुपाल राईले बताउनुभयो । गुणस्तर अनुसारको काम नगरेकाले स्थानीयहरुले पटक पटक बिभिन्न चरणमा काम गर्न दबाब दिएको स्थानीय सरोकारवाला सरोज पोख्रेलले बताउनुभयो । नागरिकका जायज मागलाई ठेकेदार कम्पनीले वेवास्ता गरेकाले अख्तियारमा उजुरीसम्म गरेको पोख्रेलले बताउनुभयो । सम्झौैता अनुसारको काम नभएकाले संयुक्त काम गर्दै आएको प्रेरा–ज्योति जेभीे मध्ये ज्योतीले काम छाडेकाले बाँकी रहेको काम अब प्रेरा कन्ट्रकसनले गर्ने पूर्वाधार विकास विराटनगरका इन्जिनियर सुमन पुरीले बताउनुभयो । साथै कार्यालयले निर्माण हुँदै गरेको कामको पूर्ण निगरानी गर्ने इन्जीनियर पुरीले जानकारी दिनुभयो । मिक्लाजुङ गाउँपालिकाको सबै भन्दा बढी चाप पर्ने र मुख्य सडक भएकाले यस सडकको पुरानो बाँकी रहेको कामलाई निरन्तरता दिन विभिन्न बाधा अवरोधहरुलाई झेल्दै कार्य गरेको मिक्लजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले बताउनुभयो । यस कामलाई निरन्तर पहल गर्न प्रदेश सभा सदस्य कुल प्रसाद साम्बाको मुख्य भूमिका रहेको गाउँपालिका उपाध्यक्ष तथा उर्लाबारी मधुमल्ला सडक अनुगमन समिति सह–संयोजक राईको भनाई छ । अब अधुरो रहेको काम पुुरा हुने राईको भनाई छ । ज्योती कन्ट्रक्सनले समयमा काम नसक्दा यस्तो अवस्था आएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताउनुभयो । अधुरो रहेको कालोपत्रे र खाल्डा खुल्डी समेतको मर्मत प्रेरा कन्ट्रक्सनले गर्ने आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै, उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले अधुरो सडक पूरा गर्न ठेकेदार पक्ष इमान्दार भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले अधुरो सडक पूरा गर्न कसैले अवरोध गरे वा चन्दाचिठ्ठा माग गरे त्यसविरुद्ध आफूहरुले कडा प्रतिवाद गर्ने बताउनु भएको छ ।
यस सडकलाई नजिकबाट नियाल्दै आएका प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाले विगतमा बिभिन्न बाहानामा यो सडक निर्माणमा ढिलाई भएको र यसले उर्लाबारी र मिक्लाजुङबासीलाई असर पुगेको बताउँदै अब यो सडकको अधुरो काम जतिसक्दो चाँडो सम्पन्न गर्न ठेकेदार पक्षलाई निर्देशनसमेत दिनुभयो । गुणस्तरीय र समय काम नभएकाले अख्तियारमा मुद्धा समेत विचाराधिन अवस्थामा रहको र अधुरो काम पुरा हुनासाथ मुद्धा सकिने आशा गरेको प्रदेश सभा सदस्य साम्बाले बताउनुभयो । मुद्धा किनारा लाग्ना साथ यस सडकलाई थप प्राथमिकतामा राखेर यो सडक निर्माण कार्य अघि बढने साम्बाको भनाई छ ।