
उर्लाबारी । करिब दुई दशकअघि घनश्याम खतिवडा र डिगबहादुर लिम्बूले मोरङको तत्कालीन लेटाङ गाविस अध्यक्षका लागि प्रतिस्पर्धा गर्नुभएको थियो । कांग्रेसका लिम्बू र एमालेका खतिवडा यसपटक फेरि आमनेसामने हुनुभएको छ ।
प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा मोरङ क्षेत्र १ का यी ‘चिरपरिचित प्रतिष्पर्धी’ बीच भिडन्त हुन लागेको हो । समग्रमा यी दुई नेताबीचको प्रतिस्पर्धा यो चौथों पटक हो । पहिलोपटक स्थानीय निकाय, दोस्रोचोटि संविधानसभा निर्वाचन, २०७४ सालको प्रतिनिधिसभा सदस्य र यस पटक पनि प्रतिनिधिसभाका लागि उहाँहरूबीच प्रतिस्पर्धा हुँदैछ । २०४९ को स्थानीय निकाय निर्वाचनमा लिम्बूलाई पराजित गर्दै खतिवडा गाविस अध्यक्ष बन्नुभयो । त्यसपछि २०७० को संविधानसभा निर्वाचनमा लिम्बूले खतिवडालाई पराजित गर्नुभयो भने २०७४ सालमा खतिवडाले लिम्बूलाई परािजत गर्नुभयो । यसपालिको प्रतिस्पर्धामा कसले कसलाई पछि पार्ला ? मोरङ १ मा उत्तिकै लोकप्रिय यी दुई नेताबीचको प्रतिस्पर्धा निकै रोचक हुँदैछ । लिम्बू वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट अघि सारिनुभएका उम्मेदवार हुनुहुन्छ भने एमाले र जसपाको साझा उम्मेद्वार खतिवडा हुनुहुन्छ । लिम्बू कांग्रेस मोरङको सभापति हुनुहुन्छ भने खतिवडा एमालेको प्रदेश कमिटी सदस्य हुनुहुन्छ । उहाँहरु दुईबीच नै मुख्य प्रतिष्पर्धा हुने अड्कल काटिएको छ । राप्रपाबाट होमनाथ गौतम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट हर्कमान सम्बाहाम्फे, मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बू, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मीप्रसाद कवां, हाम्रो नेपाली पार्टीबाट राजेन्द्रप्रसाद पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धमाया लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमलबहादुर श्रेष्ठ, स्वतन्त्रबाट तिलकबहादुर मगर, निलु लिम्बू, फूलकुमारी पंडित राई, मनिषा सुवेदी र यामप्रसाद दाहाल उम्मेद्वारी रहेको छ ।