उर्लाबारी । २०५३ साल मंसिर १० गते मोरङको उर्लाबारीमा स्थापना भएको हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. शेयर सदस्यको सारथी बन्दै अघि बढिरहेको छ ।
उर्लाबारी, पथरीशनिश्चरे, रतुवामाई–८, ९ र १०, लेटाङको ८, ९ र मिक्लाजुङ कार्यक्षेत्र रहेको यस संस्थामा ६ हजार ८ सय ९२ जना शेयर सदस्य हुनुहुन्छ । संस्थाले ७५ बर्ष पूरा हुनु भएका जेष्ठ सदस्यहरुलाई मासिक १ सय रुपैया भत्ता वितरण गर्ने गरेको छ ।

उक्त भत्तासहित प्रशंसापत्रसहित सम्मान पनि बर्षेनी गर्ने गरिएको छ । शेयर सदस्य बनेको १० बर्ष पूरा भएका र ७५ बर्षमाथीका जेष्ठ नागरिकहरुलाई मासिक भत्ता दिने गरिएको अध्यक्ष ढकबहादुर थापा (डिबी) ले जानकारी दिनुभयो । संस्थाले जेष्ठ नागरिक भ्रमण, रक्तादानलगायत कार्य पनि गर्दै आएको छ । शेयर सदस्यको परिवारमा कुनै एक सदस्य अपाङ्गता भएमा ३ हजार रुपैयाँ संस्थाले राहत दिने गरेको छ भने क्यान्सर, मुटु, मृगौला रोगीको उपचारका लागि १० हजार, सर्पको डसाईबाट पीडितको उपचारका लागि ४ हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ । सदस्यको मृत्यु भएमा २० हजारसम्म राहत दिने ब्यवस्था रहेको कोषाध्यक्ष ज्ञानेन्द्र भट्टराईले जानकारी दिनुभयो । महिला शेयर सदस्यहरु प्रसुति भएमा बच्चाको नाममा निःशुल्क खाता खोलेर २ हजार रुपैयाँ संस्थाले जम्मा गर्ने गरेको उहाँको भनाई छ । संस्थाले अधिकतम शेयर सदस्यहरुको हितमा काम गर्दै आएको सदस्य केशरबहादुर चौहानको भनाई छ ।

संस्थाको सोमबार २६ औं साधारणसभाका अवसरमा आठजना ज्येष्ठ नागरिक र ३० जना उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान गरिएको छ । संस्थाले बाल बचततर्फ ६, दैनिक बचततर्फ २, दुई बर्षे आवधिक बचततर्फ २, एक बर्षे आवधिक बचततर्फ ४, प्रौढ बचततर्फ ४, नारी बचततर्फ ३, ऐच्छिक बचततर्फ ४, हाम्रो समृद्धि बचततर्फ १ र सन्ध्याकालिन बचततर्फ ४ जनालाई सम्मान गरेको छ । सोही अवसरमा संस्थाका शेयर सदस्य उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, उपमेयर मिनादेवी पौडेल, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेललगायत २३ जना जनप्रतिनिधिहरुलाई पनि सम्मान गरिएको छ । त्यस्तै, पत्रकार ज्योति शर्मालाई पुरस्कृत गरिएको छ । शर्मालाई नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको हो ।डेढ दशकदखि पत्रकारिता क्षेत्रमा क्रियाशिल शर्मा हिमशिखर टेलिभिजन र राष्ट्रिय समाचार पत्र दैनिकमा आवद्ध रहनुभएको छ ।

उर्लाबारी नगरपालिकाका मेयर खरेल, उपमेयर खतिवडा, मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेललगायतले बोल्दै सहकारीहरुले शेयर सदस्यहरुको आर्थिक स्तर उकास्ने खालका कार्यक्रम अघि बढाउनु पर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष ढकबहादुर थापा (डिबी) को सभापतित्वमा भएको उक्त कार्यक्रम सञ्चालन सचिब मनोरथ भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय