राजविराज । धरानमा मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक राजविराज वडा नं. ४ का २८ वर्षीय युवक हुन् ।
ज्वरो आएको र सास फेर्न गाह्रो भएका युवकलाई सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । अवस्था गम्भीर रहेको भन्दै सो अस्पतालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो । धरान लगिएको केहीबेरमै मंगलबार दिउँसो उनको मृत्यु भएको थियो ।
ती युवकको शव राजविराज ल्याइएपछि स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट बुधबार राति कोरोना पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सप्तरीमा यी युवकसँगै कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।