काठमाडौं,१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।

‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसूरमा सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति दिएसँगै पक्राउ पुर्जी जारी भएको छ,’ उनले भने।

भदौ ५ गते मध्यराति काठमाडौंको एक होटलमा पुर्‍याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा मंगलबार जाहेरी परेको थियो।

जाहेरी परेसँगै प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको हो।

प्रहरीले उनीहरू बसेको भनिएको होटलको सिसिटिभी फुटेज पनि प्रमाणको रूपमा संकलन गरिसकेको छ। त्यस होटलमा लामिछानेले आफूमाथि पटकपटक बलात्कार गरेको प्रहरीसमक्ष पीडितले बयान दिएकी छन्।

यस्तै उक्त होटल जानुअघि उनीहरू भक्तपुरको नगरकोट गएका थिए। त्यहाँबाट पनि सिसिटिभी फुटेज ल्याएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

आफूमाथि बलात्कारको आरोप लागेपछि क्यारेबियन मुलुक सेन्ट लुसियामा रहेका सन्दिप लामिछानेले क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) सँग सम्पर्क गरेका छन्। लामिछानेले क्यानसँग सम्पर्क गरेर कानुनी सहयोगको अपेक्षा राखेका हुन्।

क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन।

सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ। उनी नेपाल कहिले फर्किन्छन् भन्ने टुंगो लागेको छैन।

१८ वर्षमुनीका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-१८ करणी सम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’

सन्दीपको विषयमा आइसिसीको चासो

यसैबीच राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिगमाथि करणी गरेको आरोप लागेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले चासो देखाएको छ।

क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार आइसिसीका उच्च अधिकारीले घटनामा चासो दिएका छन्।

‘आइसिसीका उच्च अधिकारीले मलाई यसविषयमा बारम्बार सोधेका छन्। मैले घटनाको ब्रिफिङ गरेको छु,’ मल्लले भने, ‘आइसिसीले यो केसमा के हुन सक्छ भनेर चासो राखेको छ। मैले नाबालिग केस भएको र नेपालको कानुनले बलात्कार भन्छ भनेपछि उनीहरू पनि सिरियस भएका छन्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय