
काठमाडौं। काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बन्ने खतरा रहेको औंल्याउँदै संक्रमितको उपचार गर्न तत्काल १० हजार शय्याको आइसोलेसन केन्द्र बनाउन सिफारिस गरेको छ ।
अस्पतालमा आइसोलेसन वार्ड पर्याप्त नहुँदा संक्रमित व्यक्ति घरघरमा बस्न बाध्य भएको उल्लेख गर्दै काठमाडौं डीसीसीएमसीले राजधानीका थप ९ अस्पताल र एक आवास केन्द्रको संरचनालाई ‘कोभिड–१९’ डेडिकेटेड उपचार केन्द्र बनाउन पनि सिफारिस गरेको छ ।
सीसीएमसीलाई उक्त सिफारिस गरेलगत्तै मंगलबार साँझ बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना महामारीले भयावह रूप लिने खतरा बढेपछि थप डेडिकेटेड उपचार केन्द्र बनाउन सिफारिस गरिएको बताए । ‘आइसोलेसन बेड अभावमा संक्रमित घर तथा टोलटोलमा बस्न बाध्य छन्, यस्तो अवस्थामा निजी स्वास्थ्य संस्थाका संरचनालाई सरकारले आवश्यकताअनुसार उपयोग गर्नुपर्छ । त्यसका लागि थप नौ अस्पताल र एक आवास केन्द्रलाई कोभिड–१९ प्रयोजनका लागि प्रयोग गर्न सिफारिस गरेका छौं ।’ सिफारिस गरेअनुसारका स्वास्थ्य संस्थालाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनले बताए ।
ठूला र व्यवस्थित पूर्वाधार भएका क्वारेन्टाइन तथा स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थाका संरचनामा पनि आइसोलेसन शय्या सीसीएमसीमा सिफारिस गरिएको छ । डीसीसीएमसीले सतुंगलस्थित मनमोहन मेडिकल कलेज, डिल्लीबजारको नेसनल मेडिकल कलेज, बालाजुको जनमैत्री अस्पताल, इचंगुनारायण आवास, वसुन्धराको महेन्द्रनारायण निधि स्मृति अस्पताल, जोरपाटीको नेपाल मेडिकल कलेज, ग्वार्कोस्थित किस्ट मेडिकल कलेज, कलंकीको सहिद मेमोरियल अस्पताल, बालाजुको विनायक अस्पताल र वसुन्धराकै चिरायु अस्पतालमा आइसोलेसन केन्द्र स्थापना गर्न सिफारिस गरेको हो ।
मनमोहनमा ५ सय शय्या, नेसनलमा २ सय ५०, जनमैत्रीमा १ सय, इचंगुनारायण आवासमा ४ सय, नेपाल मेडिकल कलेजमा ६ सय ४१, महेन्द्रनारायण निधि स्मृति अस्पतालमा २ सय ५०, किस्ट मेडिकल कलेजमा ५ सय, सहिद मेमोरियलमा १ सय, विनायक र चिरायुमा क्रमशः ५५ र ६५ शय्याका लागि सिफारिस गरिएको छ । सिफारिसअघि प्रशासनले यी अस्पताल र आवास गृहको भौतिक संरचनाको स्थलगत अवलोकन गरेको थियो । कान्तिपुर दैनिकमा मातृका दाहाल र जगदीश्वर पाण्डेले समाचार लेखेका छन् ।