उर्लाबारी । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सरगर्मी बढेको छ । दलहरु उम्मेद्वारको नाम सिफारिसमा ब्यस्त छन् भने गठबन्धनको विषयमा पनि अन्तिम टुंगो लगाउने शिर्ष नेताहरु जुटिरहेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा गठबन्धन गर्ने निर्णय भइसकेको छ भने एमाले, राप्रपासहितका दलहरु गठबन्धनको तयारीमा जुटिरहेका छन् । यसैक्रममा मोरङ क्षेत्र नं. १ मा पनि गठबन्धन हुने निश्चित छ । तर, पनि कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, राप्रपालगायत दलहरुले उम्मेद्वारको नाम सिफारिस गरिसकेका छन् । गठबन्धन हुँदा मोरङ क्षेत्र नं. १ (क) माओवादीको भागमा पर्ने निश्चित छ भने १ (ख) एकीकृत समाजवादीको पोल्टामा जाने देखिन्छ । प्रतिनिधिसभामा पनि कांग्रेसले टिकट पाउने प्रवल सम्भावना छ । कांग्रेसबाट प्रतिनिधिसभामा पहिलो नम्बरमा डिगबहादुर लिम्बूको नाम छ । उहाँ नै यस पटक गठबन्धनको साझा उम्मेद्वार बन्ने सम्भावना छ । नेपाली कांग्रेस मोरङका जिल्ला सभापतिसमेत रहनु भएका लिम्बू २०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट एमालेका घनश्याम खतिवडासँग पराजित बन्नुभएको थियो । यस पटक जित्ने गरी लिम्बू मैदानमा उत्र्ने सम्भावना छ ।
यस्तै, प्रतिनिधिसभामा समानुपातिकतर्फ ललित अधिकारीको नाम पहिलो नम्बरमा छ । उहाँ नै यस पटक समानुपातिकबाट कांग्रेसको उम्मेद्वार बन्ने देखिएको छ । उहाँ नेपानी कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । उहाँ २०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट माओवादीका कुलप्रसाद साम्बा लिम्बूसँग पराजित बन्नुभएको थियो ।
त्यस्तै, प्रदेशसभा सदस्य मोरङ क्षेत्र नं. १ (क) समानुपातिकतर्फ खड्ग फागो उम्मेद्वार बन्ने निश्चित छ । कांग्रेसबाट पहिलो नम्बरमा फागोको नाम सिफारिस भएको छ । प्रभावशाली नेता फागो कांग्रेस प्रदेश नं. १ को सह–महामन्त्री पनि हुनुहुन्छ ।
त्यस्तै, प्रदेशसभा सदस्य मोरङ क्षेत्र नं. १ (ख) समानुपातिकतर्फ सुभद्रा भट्टराई उम्मेद्वार बन्ने सम्भावना छ । पार्टीले उहाँलाई पहिलो नम्बरमा समानुपातिकमा नाम सिफारिस गरेको छ । पूर्व महासमिति सदस्यसमेत रहनु भएकी भट्टराईलाई यस पटक पार्टीले समानुपातिक उम्मेद्वार बनाउने सम्भावना छ । गठबन्धन हुँदा प्रदेशसभा सदस्य मोरङ क्षेत्र नं. १ (क) मा माओवादीका लोकप्रिय नेता कुलप्रसाद साम्बा लिम्बू (कुशल) उम्मेद्वार बन्ने पक्का छ भने प्रदेशसभा सदस्य मोरङ क्षेत्र नं. १ (ख) मा एकीकृत समाजवादीका उपेन्द्र घिमिरे उम्मेद्वार बन्ने निश्चित छ । घिमिरे यातायात तथा सञ्चार मन्त्रीसमेत रहनुभएको छ ।
गठबन्धनमा समस्या आए प्रदेशसभा सदस्य मोरङ क्षेत्र नं. १ (क) मा कांग्रेसले अर्जुन तुम्रोक र चिरञ्जीबि थापामध्ये एकलाई उम्मेद्वार बनाउन सक्ने देखिन्छ भने प्रदेशसभा सदस्य मोरङ क्षेत्र नं. १ (ख) मा शंकर राई उम्मेद्वार बन्नेछन् ।
ADVERTISEMENT