उर्लाबारी । सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणासँगै चुनाबी सरगर्मी देखिन थालेको छ ।
नेताहरु टिकटको दौडधुप गरिरहेका छन् भने कतिपय नेताहरु गाउँ÷गाउँमा भेटघाट कार्यक्रम गरिरहेका छन् । यसैक्रममा मोरङ क्षेत्र नं. १ बाट नेपाली कांग्रेसतर्फबाट प्रदेश सह–महामन्त्री खड्ग फागो, जिल्ला सभापति डिकबहादुर लिम्बू र शोभा चेम्जोङको नाम चर्चामा छ । २०७४ सालको निर्वाचनमा जिल्ला सभापति डिकबहादुर लिम्बू एमालेका घनश्याम खतिवडासँग पराजित बन्नुभएको थियो ।
क्षेत्र नं. १ मा को बलियो ?
प्रदेश नं. १ का सह–महामन्त्री तथा प्रभावशाली युवा नेता खड्ग फागो उर्लाबारी नगरपालिकाको प्रथम मेयर हुनुहुन्छ । यस पटक पनि स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेद्वार बन्नु भएका फागोलाई कांग्रेसभित्रकै एक समूह हराउन परिचालन भएको थियो । फागोलाई भोट नदिनु भन्दै कांग्रेसका केही नेताहरु मैदानमा खटिएका थिए । त्यसको बाबजुद पनि फागोले सम्मानजनक मत ल्याएर पराजित बन्नुभयो । उहाँलाई अहिले अधिकांश कार्यकर्ताहरुले प्रतिनिधिसभाको उम्मेद्वार बन्न दबाब दिइरहेका छन् । तर, फागोले उम्मेद्वार बन्ने वा नबन्ने बारेमा केही बताउनुभएको छैन । यो क्षेत्रमा तीन जनामध्ये फागो सबैभन्दा लोकप्रिय र प्रभावशाली नेता हुनुहुन्छ । फागो प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौला समूहनिकट मानिनुहुन्छ ।
त्यस्तै, मोरङ जिल्ला सभापति लिम्बू पनि यस पटक प्रतिनिधिसभाको उम्मेद्वार बन्ने दौडमा हुनुहुन्छ । लिम्बू २०७४ सालमा हारेको बदला लिँदै यस पटक मोरङ क्षेत्र नं. १ मा चारतारे झण्डा फहराउने लक्ष्यमा हुनुहुन्छ । लिम्बूलाई उम्मेद्वार बन्न फागोको समर्थन अनिवार्य चाहिन्छ । त्यो हुँदा लिम्बूले यस पटक विजयी हुने उच्च सम्भावना रहन्छ । कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धन हुनेछ । गठबन्धनको मत हेर्दा एमालेको भन्दा बढी देखिन्छ । लिम्बू नेता डा. शेखर कोइराला समूहनिकट मानिन्छन् ।
त्यस्तै, महिला नेतृ शोभा चेम्जोङको पनि नाम चर्चामा छ । उहाँ टिकटका लागि दौडधुप गरिरहनुभएको छ । महिला अधिकार क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएकी चेम्जोङको पनि प्रतिनिधिसभा उम्मेद्वारमा सशक्त दाबेदार रहेको छ ।
लिम्बू प्रत्यक्ष, फागो समानुपातिक
मोरङ क्षेत्र नं. १ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ डिकबहादुर लिम्बू नै उम्मेद्वार बन्ने सम्भावना बढी छ । फागोको समर्थनमा लिम्बू प्रत्यक्षतर्फ उम्मेद्वार बन्ने सम्भावना रहेको स्रोतले बतायो । फागो प्रतिनिधिसभा वा प्रदेशसभाको समानुपातिकतर्फको उम्मेद्वार बन्न सक्ने बुझिएको छ ।
ADVERTISEMENT