उर्लाबारी । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्यहरुको मन जित्न सफल बनेको छ ।
२०५४ सालमा स्थापना भएको मेची बहुउद्देश्यीय सहकारी शेयर सदस्यको रोजाईको सहकारी बनेको हो । २६ औं बार्षिकोत्सव तथा २८ औं साधारणसभाको अवसरमा शनिबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा सहकारीले शेयर सदस्यहरुको आवश्यकताको आधारमा योजना बनाउने जनाएको छ ।
संस्थामा गत असार मसान्तसम्ममा कायम भएका १३ हजार ३ सय १८ सदस्यहरुको शेयर पुँजी ३५ करोड ५५ लाख ७८ हजार ८०० रुपैयाँ पुगेको छ भने संस्थाको जगेडा कोषमा समेत १ करोड ४७ लाख ५९ हजार ९०० रुपैयाँ र अन्य कोषहरुमा ११ करोड ६३ लाख ७३ हजार रुपैयाँ जम्मा भएको छ । संस्थाले गत आर्थिक बर्षमा कुल ११ करोड ९८ लाख २९ हजार रुपैयाँ नाफा कमाउन सफल भएको जनाइएको छ । अन्तरक्रियामा संस्थाले गत आर्थिक बर्षमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको जनाउँदै चालू बर्ष २०७९÷०८० लाई बचत बर्षका रुपमा मनाउने योजना सार्वजनिक गरिएको छ ।
संस्थाका अध्यक्ष नारायण प्रसाद भटटराईले संस्थाले अहिले प्रदेश १ को झापा, मोरङ र इलाममा १२ वटा सेवा केन्द्र मार्फत आफ्ना सदस्यहरुसंगको कारोबारलाई निरन्तरता दिइरहेको र छिटटै पूर्वको प्रमुख शहरका रुपमा रहेको इटहरीमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । त्यस्तै संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले संस्थाको आगामी बार्षिक साधारण सभामा पेश गरिने प्रतिवेदनको सारसहित संस्थाले लिएको नीति कार्यन्वयनको पक्षका बारेमा प्रष्ट पार्नुभयो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष दमक नगरपालिकाका पूर्व मेयर रोमनाथ ओली, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापासहित संस्थाका सञ्चालक समिति, उपसमितिका संयोजक तथा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चार समितिका गोपाल झापालीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय