सरोज बस्नेत, उर्लाबारी
गुणस्तरिय शिक्षा, उपयोगी ज्ञान, उज्जवल भविष्य पशुपतिको पहिचान भन्ने नाराका साथ मोरङको उर्लाबारी–७ मा रहेको पशुपति आवाशिय माध्यमिक विद्यालय जिल्लाको मात्र नभएर प्रदेशमा नै चर्चामा रहेको विद्यालय हो । लामो इतिहास बोकेको यो विद्यालयले यस बर्ष एसईई परीक्षामा प्रदेश नं. १ कै उत्कृष्ट नतिजा ल्याएर आफुलाई अब्बल सावित गरिसकेको छ । पशुपति आमाविका आदर्श भट्टराईले जिपिए ४ ल्याएका छन् ।

   प्रदेश १ मै ४ जिपिए ल्याउने आदर्श एक्ला विद्यार्थी हुन् । पशुपतिकै स्नेहा राईले जिपिए ३.९५ प्राप्त गरेकी छिन् । अन्य विद्यार्थीहरुले समेत उत्कृष्ट अंकमा एसईई उर्तिण गरेका छन् । यस अर्थमा पनि पशुपति प्रदेश नं. १ कै उत्कृष्ट विद्यालयमा गनिन्छ । एसईईमा उत्कृष्ट नजिता ल्याएको यसै शैक्षिक सत्रबाट प्लस टु सञ्चालन गरेको छ । विद्यालयलले ब्यवस्थापन, विज्ञान र कानुन विषयमा प्लस टु सञ्चालन गरेसँगै विद्यार्थीको रोजाई पशुपति बनेको छ । सिमित सिटमा भर्ना खोलेको विद्यालयमा विद्यार्थीको आकर्षण देखिएको छ ।
पशुपति उर्लाबारीकै पहिलो निजी जिद्यालय हो । यहाँ उर्लाबारीसहित रतुवामाई, पथरीशनिश्चरे, मिक्लाजुङलगायत क्षेत्रका विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् । वि.सं. २०३७ सालमा स्थापना भएको पशुपति आमाविले यो चार दशकको अवधिमा यस क्षेत्रको शिक्षा विकासमा धेरै नै योगदान गरेको छ । २०४९ सालमा पहिलो पटक एसएलसीमा सहभागिता जनाएको यो विद्यालयबाट हालसम्म २ हजार बढी विद्यार्थीले एसएलसी (एसईई) उत्तीर्ण गरी उच्च शिक्षाको बाटो समातेका छन् । पशुपति आमावि पछि उर्लाबारी र आसपासका क्षेत्रमा अन्य निजी विद्यालय खुलेपनि यहाँ पहिलो पटक कम्प्युटर विज्ञान अध्यापन सुरु गर्ने, विद्यालय बसको प्रयोग गर्ने, विद्यार्थीलाई विदेश भ्रमणमा लान थालनी गर्ने पनि पहिलो विद्यालय पशुपति नै हो । विद्यालयले यी विषयलाई अहिले पनि निरन्तरता दिँदै आएको छ । कोभिड महामारीका कारण विदेश भ्रमण केही वर्ष हुन नसकेपनि आगामी शैक्षिक सत्रबाट यसलाई निरन्तरता दिइने विद्यालयका निर्देशक आनन्द कार्कीले जानकारी दिनुभयो । यसअघि विद्यार्थीहरुलाई भारतको कोलकाता, लखनउ, दार्जिलिङ, सिक्किम, सिलिगुडीलगायतका क्षेत्रमा शैक्षिक भ्रमणका लागि लैजाने गरिएको थियो ।

एसएलसीमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्दै आएको पशुपति बोर्डिङले बेला बखत राष्ट्रिय स्तरका विभिन्न पुरस्कार प्राप्त गरेको छ । २०५९ सालमा एसएलसीमा पूर्वाञ्चल प्रथम भई नगद ५० हजार र गोरखा दक्षिण बाहुबाट विद्यालय सम्मानित भएको थियो । २०६३ सालको एसएलसीमा पूर्वाञ्चल तृतीय भएको थियो । यहाँ अध्ययन गरेका सयौं विद्यार्थीहरु डाक्टर, इन्जिनियर, निजामति अधिकृत, पिएचडि डाक्टर भइसकेको संस्थापक विजयकुमार कार्कीले बताउनुभयो ।

तल्ला कक्षामा मन्टेश्वरी पद्दतिबाट पठनपाठन गराउँदै आएको यस विद्यालयले सैद्धान्तिकभन्दा प्रयोगात्मक विधिलाई जोड दिँदै आएको छ । विद्यार्थी आफैंले गरेर सिक्ने पद्दतिलाई अवलम्बन गरी बालबालिकाको चौतर्फी विकासमा टेवा पु¥याउँदै आएको छ । विद्यार्थीको उमेर, क्षमता र आवश्यकता अनुरुप शिक्षण क्रियाकलाप सञ्चालन गरिएको प्रबन्धक निर्देशक आनन्द कार्कीको भनाई छ । अध्ययनका साथसाथै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको पशुपति आमाविले विगतमा एक बृहत विज्ञान प्रदर्शनी गरेको थियो । उक्त प्रदर्शनीमा बिर्तामोड, धरान विराटनगरसम्मका विद्यालयका विद्यार्थीहरु आएर अवलोकन गरेका थिए । विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्न पशुपतिले अनेक क्रियाकलाप गर्दै आएको छ ।

पशुपतिमा ११ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । दक्ष, अनुभवी र परिपक्वता हासिल गरेका शिक्षक शिक्षिकाबाट अध्यापन गराइने विद्यालयमा कमजोर विद्यार्थीका लागि कोचिङ कक्षाको व्यवस्था गरिएको निर्देशक कार्कीले बताउनुभयो । बालमैत्री वातावरणमा प्रयोगात्मक पद्धतिबाट निरन्तर सिकाइलाई विद्यालयले अघि बढाएको छ । टाढाबाट आउने विद्यार्थीका लागि बसको व्यवस्था, डे बोर्डसको व्यवस्था, विद्यालय हातामा सुविधा सम्पन्न क्यान्टिनको व्यवस्था, व्यस्त अभिभावकका नानीबाबुहरुलाई विद्यालयमा नै खाजा खुवाउने व्यवस्थालगायत पशुपति आमाविका विशेषता रहेका छन् । विद्यालयले चार आधारलाई अघि बढाएको निर्देशक कार्की बताउनुहुन्छ । पशुपतिले शिक्षक सिकाइ, अतिरिक्त तथा सहकार्यकलाप, अनुशासन र मूल्यवान भरोसायोग्य विद्यालयको पहिचान बनाएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय