उर्लाबारी । सरकारले आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणासँगै टिकट हत्याउन नेताहरुको दौडधुप बढेको छ ।
यसैक्रममा मोरङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागो, जिल्ला सभापति डिगबहादुर लिम्बू र शोभा पालुङ्वा चेम्जोङको नाम प्रतिनिधिसभाको उम्मेद्वारको रुपमा चर्चा हुन थालेको छ । फागो मोरङ क्षेत्र नं. १ का प्रभावशाली नेता मानिनुहुन्छ । बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेद्वार बन्नु भएका फागोलाई पार्टीभित्रकै केही नेताहरुले खुलेरै हराउन लागेको थिए । सोही कारण उहाँ नेकपा एमालेका मेयर पदमा उम्मेद्वार गंगाप्रसाद खरेलसँग पराजित बन्नुभयो । २०७४ सालको निर्वाचनमा भने फागो उर्लाबारी नगरपालिकाको मेयरमा निर्वाचित हुँदै उर्लाबारीको प्रथम मेयरमा आफ्नो नाम लेखाउन सफल बन्नुभएको थियो । क्षेत्र नं. १ को सभापति हुँदा फागोले लेटाङ, उर्लाबारी र केराबारीमा विजयी गराउनुभएको थियो भने यस पटक नेपाली कांग्रेस मिक्लाजुङ गाउँपालिकामा मात्रै विजयी भएको छ । संगठन परिचालनमा फागो अब्बल मानिनुहुन्छ ।  युवा तथा प्रभावशाली नेता भएका कारण स्थानीय तहमा पराजित भएपनि पुनः प्रतिनिधिसभाको उम्मेद्वारमा चर्चामा ल्याएको छ । त्यस्तै, दोस्रो संविधानसभामा साविकको क्षेत्र नम्बर ९ बाट घनश्याम खतिवडा र वर्षमान पुनलाई पराजित गरेर सभासद बन्नुभएका डिगबहादुर लिम्बु २०७४ सालको प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको थियो । तर, एमालेका घनश्याम खतिवडासँग पराजित बन्नुभएको थियो । यस पटक पनि उहाँलाई प्रतिनिधिसभाको उम्मेद्वारको रुपमा अघि बढाउने सम्भावना छ । त्यस्तै, महिला नेतृ शोभा पालुङ्वा चेम्जोङको पनि प्रतिनिधिसभाको उम्मेद्वारमा चर्चामा छ । महिला संघको केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसक्नु भएका चेम्जोङ सामाजिक तथा महिला अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएको छ ।
तीनमध्ये को बन्ला त ?
जानकार स्रोतका अनुसार यस पटक पुनः डिगबहादुर लिम्बू प्रतिनिधिसभाको उम्मेद्वार बन्ने प्रवल सम्भावना छ । जसका लागि लिम्बूलाई फागोको साथ अनिवार्य आवश्यक पर्छ । मोरङ क्षेत्र नं. १ कांग्रेसभित्र लिम्बूभन्दा फागो लोकप्रिय हुनुहुन्छ । त्यसैकारण पनि फागोको समर्थन लिम्बूलाई आवश्यक पर्छ । लिम्बूलाई प्रतिनिधिसभाको उम्मेद्वार बनाएर फागोलाई प्रतिनिधिसभा वा प्रदेशसभामा समानुपातिक सूचीमा राख्न सक्ने सम्भावना देखिन्छ । चेम्जोङ पनि समानुपातिक कोटामा पर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय