
दमक । विदेश लैजाने भन्दै एक दर्जन बढि युवालाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा झापाको दमकका भूमिराज पराजुलीविरुद्ध वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी गरेको छ ।
पराजुलीले झापासहित विभिन्न जिल्लाका १४ जनाभन्दा धेरै व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेसँगै विभागले पराजुलीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय झापाले पत्रचार गरेको हो ।
दमकस्थित हिमशिखर टेलिभिजनको समाचार प्रमुखका रुपमा कार्यरत पराजुलीबिरुद्ध वैदेशिक रोजगार कसुर मुद्दामा पक्राउ पूर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बशन्त पाठकले बताए । वैदेशिक रोजगार विभागमा असार २० गते पराजुलीविरुद्ध उजुरी परेको बताइएको छ ।
उजुरीका आधारमा विभागले जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार गरेको हो । विभागका अनुसन्धान अधिकृत कृष्णकुमारी भण्डारीद्वारा हस्ताक्षरित पत्रमा दमक–१० (५) बस्ने ३२ वर्षीय पराजुलीलाई पक्राउ पुर्जी जारी गर्दै निजको मेडिकल गराई विभागमा उपस्थित गराईदिन भनिएको छ ।
पराजुलीले युरोप मुलुक रोमानिया पठाउने भन्दै झापाको दमक, पाँडाजुगी, विर्तामोड, भद्रपुर, इलाम र मोरङको बेलवारीका १४ जनाभन्दा बढीबाट जनही ३ लाख रुपैयाँसम्म ठगी गरेको पीडितहरुले बताएका छन् । पराजुलीले विर्तामोड–४ स्थित दीपक अधिकारीबाट ३ लाख, शिवसताक्षी–८ निवासी नरेन्द्र तामाङबाट २ लाख ९० हजार, भद्रपुर–२ निवासी नरेश मगरबाट १ लाख ५० हजार, भद्रपुर–२ निवासी केशवकुमार मगरबाट १ लाख ५० हजार, बेलवारी–४ मोरङ निवासी दिनेश धिमालबाट १ लाख ३० हजार, देउमाई–७ इलामका हस्तवहादुर गोलेबाट २ लाख ९० हजार, देवजङ्ग राईबाट १ लाख ४० हजार रुपैयाँ ठगी गरेको बताइएको छ ।
पराजुलीले आफ्ना दाजु भाउजू रोमानियामा रहेको र उनीहरुसँग समेत कुरा गराउँदै विभिन्न व्यक्तिबाट रकम असुलेको बताइन्छ । रोमानिया पठाउने वहानामा २०७८ सालमा रकम लिएर अलपत्र बनाएपछि नरेन्द्र तामाङलगायतले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए । उजुरीका आधारमा विभागले जिल्ला प्रहरी कार्यालय झापालाई पराजुलीबिरुद्ध पक्राउ पुर्जी जारी गर्दै पक्राउ गर्न र उनी फेला नपरेमा फेला नपरेको प्रतिवेदन पठाउन भनेको छ ।
पराजुलीले रोमानिया पठाउने भन्दै शुरुमा आफूबाट एक लाख रुपैयाँ लिएको र पछि थप २ लाख रुपैयाँ लिएको विर्तामोड–४ का अधिकारीले बताएका छन् । पीडितहरुका अनुसार रोमानियामा किचन हेल्परका लागि पठाउने भन्दै उनले शुरुमा पेश्कीस्वरुप एक लाख रुपैयाँ लिएका थिए । पछि वर्कपर्मिट आएको भन्दै थप २ लाख गरी ३ लाख रुपैयाँ लिएको अधिकारीले बताए ।
‘मजस्ता धेरैलाई रोमानिया पठाउने भन्दै पराजुलीले ठगी गरेका रहेछन्’ अधिकारीले भने ‘हामीसँगको सम्पर्कमा १४ जना आइसकेका छन् ।’ पराजुलीले रोमानिया पठाउने भन्दै धेरैलाई घरमै बोलाएर इन्टरभ्यूसमेत लिने गरेका थिए । इन्टरभ्यूपछि रोमानियाको भिषा पक्का भयो भन्दै रकम लिने गरेको बताइएको छ ।
पराजुलीका नाममा विभिन्न वैंकबाट रकम भुक्तानी गरेको कागजात र वैदेशिक रोजगार विभागको पत्रसहित पराजुलीलाई पक्राउ गरिनुपर्ने मागसहित सोमबार पीडितमध्ये ७ जना इलाका प्रहरी कार्यालय दमक पुगेका थिए । जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार नै इलाका प्रहरी कार्यालय दमकलाई पत्राचार गरि पराजुलीलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।
इलाका प्रहरी कार्यालय दमकले पराजुलीलाई पक्राउ नगरेपछि पीडित आफैं इलाका प्रहरी कार्यालय दमक पुगेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले पराजुली झापामा नरहेकोले पक्राउ नपरेको बताएका छन् ।
पराजुलीले वैदेशिक रोजगार विभागमा आफैं उपस्थित हुन काठमाडौं पुगेको बताएका छन् । पराजुली प्रेस चौतारी नेपालका माई पश्चिम अध्यक्षसमेत हुन् । वैदेशिक रोजगारका सिलसिलामा मलेसियामा केहि वर्ष बसेका उनी फर्किएपछि हिमशिखर टेलिभिजनमा आबद्ध भएका थिए ।
पराजुली प्रेस चौतारी नेपालका माई पश्चिम अध्यक्षसमेत हुन् । वैदेशिक रोजगारका सिलसिलामा मलेसियामा केहि वर्ष बसेका उनी फर्किएपछि हिमशिखर टेलिभिजनमा आबद्ध भएका थिए ।