उर्लाबारी । एक युवतीले सामाजिक सञ्जाल फेशबुकमा साथीको अनुरोध पठाइन् ।
अपिता शर्मा नाम गरेको फेशबुकबाट आएको साथीको अनुरोध स्वीकार हुन साथ ती युवतीले म्यासेजको बर्षा गर्न थालिन् । हिन्दीमा ती युवतीले म्यासेज टेक्स गर्दै साथी बन्न चाहेको र वाट्सएप नम्बर दिन अनुरोध गर्छिन् । वाट्सएप नम्बर दिन साथ उनले भिडियो कल गरिन् । भिडियो कलमा ती युवती नग्न हुँदै अत्तेजित बनाएर युवाहरुलाई पनि आफ्नो गोप्य अंग देखाउन अनुरोध गर्दै त्यसको भिडियो बनाएर ब्लाकमेलिङ गर्ने गरेको पाइएको छ । खासमा युवतीको तस्वीर राखिएको त्यो फेसबुक आइडी नक्कली थियो ।
युवतीको नाम र फोटो राखेर खासगरी भारत, पाकिस्तानबाट साइबर ठगहरू सक्रिय रहेको पाइएको छ । तर, बदनाम भइने डरले पीडितहरू प्रहरीमा आउँदैनन् । परिवारसँग यसबारे बातचित गर्दैनन् । यसैको फाइदा उठाउँदै ठगहरूले पैसा पठाउन बाध्य पार्ने गरेको पाइएको छ । यस्तो ठगीबाट पढेलेखेका र कुलिन परिवारका मानिससमेत परेका छन् । प्रहरीका अनुसार ठगहरूले युवतीको नाम र फोटो राखेर आइडी बनाउँछन् । अनि फेसबुक, व्हाट्सएप र भाइबरमा फ्रेण्ड रिक्वेस्ट गर्छन् । सामाजिक सञ्जालका माध्यममा साथी बनेपछि महिला वा युवतीले प्रयोगकर्तासित कुराकानी अर्थात च्याट गर्न थाल्छन् । सुरुवाती दिनमा ‘मीठा’ कुरा गरे पनि पछि महिला तथा युवतीले अश्लील कुरा सुरु गर्छिन् । त्यसपछि अक्सर पुरुषहरू जालमा फस्छ न् ।
नक्कली खाताबाट संवादकै क्रममा युवती भिडियो कलमा निर्वस्त्र हुन्छिन् । यसै गर्न युवकलाई पनि उक्साउँछिन् । ठगले भिडियो रेकर्ड गरिरहेको हुन्छ । कल काटिएलगत्तै सम्बन्धित युवकलाई भिडियो पठाइन्छ । अनि कैयौँ अन्जान नम्बरबाट फोन आउन थाल्छ । त्यो भिडियो सामाजिक सञ्जालमा शेयर गर्ने धम्की दिइन्छ । आफन्त, साथीभाइलाई पठाइदिने डर देखाइन्छ । र, अनलाइन र आईएमईमा रुपैयाँ ट्रान्सफर गर्न भनिन्छ । कसैले एकपल्ट पैसा पठाइहाले ठगहरूले हरेक महिना उही धम्की दिएर पैसा असुल्ने गर्छन् । पुरुष मात्र होइन, महिलाहरूसमेत यसरी ठगिने गरेको प्रहरी साइबर ब्युरोले जनाएको छ । तर, महिलाहरूले लिखित उजुरी भने दिएका छैनन् ।
कसरी जोगिने ?
धेरैजसो मानिस सामाजिक सञ्जालका नक्कली खाता नचिनेर फस्ने गरेका छन् । चाहे त्यो फेसबुक होस् वा व्हाट्सएप, इन्स्टाग्राम । तर, अपवादबाहेक नक्कली खाता पत्ता लाउन गाह्रो छैन । अस्ट्रेलियाली साइबर सुरक्षाविद् एलेक्स मर्टनले आफ्नो एक ब्लगमा लेखेअनुसार केही कुरामा ध्यान दिए नक्कली खाता पहिचान गर्न सकिन्छ । जस्तो कि, नक्कली आइडीको प्रोफाइलमा प्रायः सुन्दर युवक, युवतीको तस्वीर राखिएको हुन्छ ताकि साथीको आग्रह जो कसैले तुरुन्तै स्वीकार गरोस् । नक्कली आइडीमा फोटो वा पोस्टहरू अत्यन्तै कम हुन्छन् । ती पोस्टमा लाइक्स, कमेन्ट्स करिब हुँदैनन् किनकि, निश्चित उद्देश्य पूरा भएपछि बन्द गर्नेगरी खाता बनाइएको हुन्छ । बायो प्रस्ट हुँदैन । चिनेजानेका साथी हुँदैनन् ।
कतिपय अवस्थामा फ्रेण्ड रिक्वेस्ट नपठाई सिधै मेसेन्सरमा मेसेज रिक्वेस्ट आउँछ । व्हाट्सएप वा भाइबरमा पनि अनजान नम्बर वा व्यक्तिसँग जोडिनु हुँदैन । खासगरी ं९१ (भारत) र ं९२ (पाकिस्तान) बाट फोन आयो भने जोगिनुपर्छ । यो ठगीमा नपर्न प्रयोगकर्ता आफू सचेत हुनुपर्छ ।
यसरी ठग्ने क्रम बढ्यो, सीआईबी भन्छ– जोगिनुस्
प्रहरीले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन देखाएर ठगी गर्ने कार्य बढिरहेको भन्दै त्यसतर्फ सचेत हुन नागरिकलाई सुझाव दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सूचना जारी गरी त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुरोध गरेको छ । पछिल्लो समय नेपालमा अवैध ऋण लगानी (मिटर ब्याज) गरी दिएको रकमको धेरै गुणा रकम तिरिसक्दासमेत तमसुक, चेक वा दृष्टिबन्धक जग्गा फिर्ता नदिई उठीवास गराउने गरेको, वैदेशिक रोजगारीको प्रलोभन, फोन, मेल र सामाजिक सञ्जालको दुरुपयोग गरी वा सामाजिक सञ्जालमा साथी बनाई चिठ्ठा, उपहारका नाममा ठगी, सस्तो मूल्यमा सामान पठाई दिने भनी ठगी गर्नेजस्ता घटना देखिएको प्रहरीले जनाएको छ । यस्तै विदेशी नागरिकको आवरणमा आकर्षक गन्तव्यमा पठाइदिने, विवाह गर्ने, व्यापारिक साझेदार बनाउने वा सामाज सेवाका नाममा डलरले भरिएका बाक्साका फोटो देखाई एवं झुटा श्रव्यदृष्य सामग्रीसमेत पठाई भ्रममा पारी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी नजिकका व्यक्ति बनी आकस्मिक रूपमा फोनका माध्यमबाट पैसा मागी ठगी गर्ने, मोबाइल बैंकिङका पासवर्ड र बैंकका विवरण मागी रकम झिक्ने, सामाजिक सञ्जालमा भिडिओ कल गरी अश्लील फोटो तथा भिडिओ लिई अपलोड गरिदिने धम्की दिई आपराधिक लाभ लिने, नेपालीको बैंक खातामा अवैध रकम जम्मा गर्न लगाई हुण्डीमार्फत विदेशमा पठाउन लगाउने वा नचिनेका व्यक्तिलाई पैसा दिन लगाई आपराधिक कार्यमा संलग्न गराउने कार्य भएको भनी प्रहरीमा उजुरी परेको छ ।
नेपालमा क्रिप्टोकरेन्सी तथा डिजिटल नेटवर्किङ आदिबाट धेरै गुणा प्रतिफल दिने भनी प्रलोभनमा पारी ठगी गर्ने कार्यसमेत देखिएको जनाउँदै ब्युरोले यस्ता अवाञ्छित कार्यका सम्बन्धमा सचेतना बढाई सजगता अपनाउन र ठगीबाट बच्न अनुरोध गरेको छ । जाहेरी प्राप्त भएको अवस्थामा प्रहरीद्वारा कसुरदारबारे अनुसन्धान गरी कानुनबमोजिम कडाइका साथ कारबाही भइरहेको छ ।