उदयपुर । उदयपुर सिमेन्ट उद्योग बन्द भएकाे छ । सरकारले निर्यातमा छुटको घोषणा गरेसँगै निजी सिमेन्ट उद्योगले भारत निकासीको तयारी गरिरहँदा सरकारी सिमेन्ट उद्योग भने बन्द भएको हाे ।

नियमित रुपमा सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योगले विद्युत अभावका कारण उत्पादन नै बन्द गरेको हाे । सिमेन्ट उद्योगलाई नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको विद्युतमा अवरोध भएपछि असार ९ गतेदेखि सिमेन्ट उत्पादन पूर्ण रुपमा बन्द भएको हो ।

उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपाने विद्युत आपूर्तिमा समस्या आउँदा सिमेन्ट उत्पादन पूर्ण रुपमा बन्द भएको बताउँछन् ।

उनका अनुसार उद्योग पूर्णरुपमा सञ्चालन हुन ६.५ मेगावाट विद्युत आवश्यक पर्नेमा हाल २.५ मेगावाट मात्र बिजुली आपूर्ति भएकाले सिमेन्ट उत्पादन पूर्ण रुपमा रोकिएको हो ।

‘असार ९ गते लहानस्थित नेपाल विद्युत प्राधिकरणको टावरमा चट्याङ लागेपछि विद्युत आपूर्ति बन्द भयो, विकल्पमा हामीलाई सोलु करिडोरको लाइनबाट विद्युत आपूर्ति गरिएको थियो’, उनले भने, ‘त्यहाबाट २.५ मेगावाट विद्युत आपूर्ति भएको थियो, हामीलाई आवश्यक पर्नेभन्दा ज्यादै कम र अनियमित हुँदा सिमेन्ट उत्पादनमा समस्या भयो ।

उनले सोलु करिडोरबाट दिईएको विद्युतबाट केही समय सिमेन्ट उत्पादन गरिएतापनि उद्योगसँग क्लिनकर सकिएपछि उत्पादन रोकिएको बताए ।

उनका अनुसार सिमेन्ट उत्पादन नै बन्द भएपछि नेपाल विद्युत प्राधिकरणले समस्या समाधानमा सक्रिय रुपमा लागिपरेको छ । प्राधिकरणले यथासिघ्र रुपमा विद्युत सुचारु गर्ने तयारीका साथ नयाँ ट्रान्सफर्मर राख्ने तयारी गरेको उनको भनाइ छ ।

लक्ष्यको ९२ प्रतिशत उत्पादन

महाप्रबन्धक न्यौपानेका अनुसार उद्योगले चालु आर्थिक वर्षमा २४ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको थियो । लक्ष्य अनुसार असारसम्म २२ लाख बोरा अर्थात ९२ प्रतिशत सिमेन्ट उत्पादन भइसकेको उनले बताए ।

विद्युत आपूर्ति रोकिदा लक्ष्य अनुसार सिमेन्ट उत्पादन गर्न नसकिएको उनको भनाइ छ । गत असार ९ गतेदेखि सिमेन्ट उत्पादन पूर्ण रुपमा रोकिदा १५ करोड रुपैयाँ बढीकोे नोक्सानी भएको न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय