उर्लाबारी । मोरङको उर्लाबारीका दुई ब्यवसायीले करोडौं ठगेर भागेका छन् ।
मोरङको उर्लाबारी एक जना सुनचाँदीको कारोबार गर्ने राजेश भनिने गोपाल गौतम फरार करोडौं ठगेर भागेको लामो समय भइसक्यो, अहिलेसम्म भेटिएका छैनन् भने भर्खरै उर्लाबारी–७ का हार्डवयेर ब्यवसायी विनोद ओली पनि करोडौं ठगेर भागेको महिनौं वित्यो । तर, उनी पनि कहाँ लुकेर बसेका छन् भन्ने पत्तै नपाउँदा ग्राहकहरु समस्यामा परेका छन् ।
आकर्षक ब्याज दिने भन्दै जम्मा गरेको करोडौं रूपैयाँ लिएर उर्लाबारी नगरपालिका–६ डिबि मार्गमा रहेको गौतम सुनचाँदी पसलका संचालक गौतमले उर्लाबारी तीन सय जना बढी सर्वसाधरणले ब्याजमा लगाएको १२ करोड रुपैयाँ भन्दा बढी रकम लिएर फरार भएको बुझिएको छ । त्यस्तै, उर्लाबारी–७ का हार्डवयेर ब्यवसायी विनोद ओली करोडौं रकम ठगेर भागेका छन् । ओलीले ग्राहक र स्थानीयको करोडौ रकम ठगेर भागेपछि पीडितहरुले खोजीका लागि हारगुहार गरिरहेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी नगरपालिकामा ओली ठगेर भागेको भन्दै उजुरीको चाङ छ । उर्लाबारी–७ बरगाछीमा लक्ष्मी हार्डवयेर पसल सञ्चालन गर्दै आएका ओली केही महिनादेखि सम्पर्कविहीन बनेका छन् ।
सिमेन्ट, रड उपलब्ध गराउने सर्तमा ग्राहकबाट अग्रिम भुक्तानी लिने, स्थानीयबासी, बैंक तथा वित्तीय संस्थाको गरी करोडौ ठगेर भागेका ओलीको अत्तोपत्तो छैन । ओलीबाट ३५ जना बढी पीडित रहेको बुझिएको छ । कसको कति रकम भन्ने विषयमा यकिन नभएपनि ५ करोडभन्दा बढी रकम ओलीले तिर्नु पर्ने देखिएको जानकार स्रोत बताउँछन् । भएभरको सम्पत्ति बेच्दा पनि ऋण चुक्ता हुने स्थिति नभएको कारण ओली भागेको हुन सक्ने सहकर्मीहरु बताउँछन् । कहाँ भागेका हुन् भन्ने बिषयमा भने कसैलाई थाहा नभएको बुझिएको छ ।
ओली उर्लाबारी जेसीजको पूर्वअध्यक्ष हुन् । लामो समयदेखि उर्लाबारी–७ मा हार्डवयेर ब्यवसाय गर्दै आएका ओली ऋणको ब्याजको ब्याज बढेको कारण भागेको हुन सक्ने सहकर्मीले बताएका छन् । ओलीले १८, २४, ३६ प्रतिशत ब्याजमा पैसा चलाएको कारणले आर्थिक समस्या उत्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय