
उर्लाबारी । मोरङको उर्लाबारी–७ का हार्डवयेर ब्यवसायी विनोद ओली करोडौं रकम ठगेर भागेका छन् । ओलीले ग्राहक र स्थानीयको करोडौ रकम ठगेर भागेपछि पीडितहरुले खोजीका लागि हारगुहार गरिरहेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी नगरपालिकामा ओली ठगेर भागेको भन्दै उजुरीको चाङ छ । उर्लाबारी–७ बरगाछीमा लक्ष्मी हार्डवयेर पसल सञ्चालन गर्दै आएका ओली केही महिनादेखि सम्पर्कविहीन बनेका छन् ।
सिमेन्ट, रड उपलब्ध गराउने सर्तमा ग्राहकबाट अग्रिम भुक्तानी लिने, स्थानीयबासी, बैंक तथा वित्तीय संस्थाको गरी करोडौ ठगेर भागेका ओलीको अत्तोपत्तो छैन । ओलीबाट ३५ जना बढी पीडित रहेको बुझिएको छ । कसको कति रकम भन्ने विषयमा यकिन नभएपनि ५ करोडभन्दा बढी रकम ओलीले तिर्नु पर्ने देखिएको जानकार स्रोत बताउँछन् । भएभरको सम्पत्ति बेच्दा पनि ऋण चुक्ता हुने स्थिति नभएको कारण ओली भागेको हुन सक्ने सहकर्मीहरु बताउँछन् । कहाँ भागेका हुन् भन्ने बिषयमा भने कसैलाई थाहा नभएको बुझिएको छ ।
कसरी डुबे त ओली
ओली उर्लाबारी जेसीजको पूर्वअध्यक्ष हुन् । इमान्दार ब्यवसायीमै ओली गनिएका थिए । लामो समयदेखि उर्लाबारी–७ मा हार्डवयेर ब्यवसाय गर्दै आएका ओली ऋणको ब्याजको ब्याज बढेको कारण भागेको हुन सक्ने सहकर्मीले बताएका छन् । ओलीले १८, २४, ३६ प्रतिशत ब्याजमा पैसा चलाएको कारणले आर्थिक समस्या उत्पन्न भएको जनाइएको छ ।
कहाँ लुकेका छन् ओली ?
मोटो रकम लिएर ओली फरार भएपछि चौतर्फी खोजी कार्य भइरहेको छ । प्रहरी कार्यालयमा सम्पर्कमा आएको भन्ने हल्ला चलाएपनि ओली हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । ओली कहाँ लुकेर बसेका छन् भन्ने विषयमा सहकर्मीलाई पनि पत्तो छैन । केहीले ओली भारततर्फ गएको हुन सक्ने अड्कल गरेका छन् ।