उर्लाबारी । मोरङको उर्लाबारीमा यही बैशाख ११ गतेदेखि २० गतेसम्म टाइफाइड रोग विरुद्धको खोप कार्यक्रम गरिने भएको छ ।
खोप अभियानमा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने आज उर्लाबारी नगरपालिकामा आयोजित पालिका स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीमा जानकारी गराइएको हो । अन्य उमेर समूहका भन्दा १५ वर्षमुनिका बालबालिकामा टाइफाइड ११ गुणा बढी संक्रमण हुने भएकोले यो उमेर समूहलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य शाखाका सह–संयोजक रेणुकाप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार टाइफाइड प्रायः गर्मी महिनामा लाग्ने एक सरुवा रोग हो, जुन दूषित पानी वा फोहोर पदार्थहरूबाट सर्ने गर्छ । यो रोग लागेमा ज्वरो आउने, जीउ दुख्ने, बान्ता आउने, पखाला लाग्ने, आदि लक्षण देखिन्छन्, जुन बढ्दै गएमा मानिसको ज्यान समेत जान सक्छ ।
नेपालमा वर्सेनि ४ लाख ५० हजारभन्दा बढी मानिस टाइफाइडबाट संक्रमित हुने गरेको उहाँले बताउनुभयो । यो खोप नगरका ९ वटै वडामा लगाउने तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख तोयानाथ घिमिरेले जानकारी दिनुभयो । उर्लाबारीमा १५ वर्षमुनिका करिब २३ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको उहाँको भनाई छ । नेपालमा पहिलो पटक सरकारले बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन लागेको हो । हालसम्म नेपालमा सरकारको नियमित तालिका अन्तर्गत बालबालिकालाई १२ वटा खोप दिँदै आएको छ । आगामी वर्षदेखि भने टाइफाइडको खोप पनि त्यस तालिकामा समावेश गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय