उर्लाबारी । शनिबार मोरङ सुनचाँदी व्यवसायी संघ, उर्लाबारीको आठौँ वार्षिक साधारणसभा कार्यक्रम थियो । कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो हुनुहुन्थ्यो भने बिशिष्ट अतिथि उपमेयर लक्ष्मीदेवी भण्डारी । कार्यक्रमका सञ्चालक तथा संघका महासचिब अशोक धिमालले मेयर ज्यूको कार्यब्यस्तता रहेको भन्दै पहिलो वक्ताको रुपमा सम्बोधन गर्ने कुरा बताउनुभयो । त्यसपछि मेयर फागोले नगरपालिकाका बहुमतको दम्भका कारण काम गर्न नसकेको भन्दै नेकपा एमालेबाट निर्वाचित उपमेयर भण्डारीसहितका जनप्रतिनिधिको कडा आलोचना गर्नुभयो । जनभावनाअनुसार काम गर्न खोज्दा रोकेको भन्दै मेयर फागोले कडा आक्रोश पोख्नुभयो ।
उर्लाबारी नगरपालिकामा अब सक्षम र सबल नेतृत्व आउनुपर्ने बताउँदै मेयर फागोले उपमेयर भण्डारीसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिका कारण काम गर्न नसकेको आरोप लगाउनुभयो । ६ करोड ३७ लाखको संचित कोषबाट बजेट बिनियोजन गरी अघि बढ्न खोज्दा बहुमतले रोकिएको मेयर फागोको भनाइ छ । मेयर फागोले उर्लाबारीका जनप्रतिनिधिको सम्पत्ती छानबिन गर्नुपर्ने समेत बताउनुभयो । जनप्रतिनिधिको सेवासुबिधा अब तत्काल रोकिने मेयर फागोको भनाइ छ । उहाँले सरकारी गाडी फिर्ता गरेको घोषणा पनि सोही कार्यक्रममा गर्नुभयो । मन्तव्यको क्रममा बिशिष्ट अतिथि रहेकी रहनुभएकी उपमेयर लक्ष्मीदेवी भण्डारीले मेयर फागोको भाषणको जवाफ दिनुभयो । चुनावको मुखमा सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन लागेकाले मेयरको प्रस्ताव आफुहरुले रोकेको उहाँले दाबी गर्नुभयो । सडक बत्तीका लागि नगरसभाबाटै ८० लाख बजेट बिनियोजन गरिसकिएकाले बत्ती निभेमा त्यो बजेट कहाँ गयो ? जनता आफैले खोज्ने उहाँले बताउनुभयो । उपमेयर भण्डारीले मेयर फागोकै कारण उर्लाबारीमा करोडौका ठुला योजना आउन नसकेको र आएका पनि कार्यान्वयन हुन नसकेको आरोप पनि उहाँले लगाउनुभयो । कार्यपालिकामा देखिएको विवाद अब कार्यक्रममा देखिन थालेको छ । कार्यक्रमै मेयर र उपमेयरको दोहोरी चल्न थालेको छ ।
साधारणसभामा नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मणिरत्न शाक्यले स्थानीय सरकारले सुनचाँदी पसलका कालीगढलाई तालिमको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उर्लाबारीमा वार्षिक डेढ अर्ब बढीको सुनचाँदीको कारोबार हुने गरेको बताउँदै अध्यक्ष शाक्यले यहाँका व्यवसायीले तिरेको करको केही प्रतिशत व्यवसायीकै हितमा खर्च हुनुपर्ने बताउनुभयो । साधारणसभामा संघका प्रथम उपाध्यक्ष मोहनकाजी शाक्य, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी लगायतले पनिबोल्नुभयो ।। कार्यक्रम संयोजक एवम् उपाध्यक्ष यामलाल रसाईलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले गर्नुभएको थियो ।
ADVERTISEMENT