उर्लाबारी । उर्लाबारी वडा नं. ९ का युवा नेता लोलिम पोमुले आर्थिक अवस्था कमजोर भएका परिवारको घरघरमा पुगेर स्वास्थ्य बिमा गराईदिनुभएको छ ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ (क) का उपसभापति समेत रहनु भएका पोमुले आसामे टोल, चक्रे टोललगायतका घरघरमा पुगेर आर्थिक अवस्था कमजोर भएका परिवारको स्वास्थ्य बिमा गराईदिनुभएको हो । पोमुले ब्यक्तिगत खर्चमा शनिबार १० परिवारको स्वास्थ्य बिमा गराईदिनु भएको छ । अरनिको हस्पिटलका अध्यक्षसमेत रहनु भएका पोमुले आर्थिक अवस्था ज्यादै नाजुक भएर बिमा गराउन नसकेका परिवारहरुको स्वास्थ्य बिमा गराईदिएको जानकारी दिनुभयो । हालसम्म २१ परिवारको स्वास्थ्य बिमा गराइसकेको र पाँच बर्षभित्र वडाभरिकै आर्थिक अवस्था ज्यादै कमजोर भएका सबै परिवारको स्वास्थ्य बिमा गराउने अभियानमा लागेको उहाँको भनाई छ । आफुले कुनै स्वार्थ नराखी ब्यक्तिगत खर्चमा बिमा गराएको उहाँले प्रष्ट पार्नुभएको छ । आर्थिक अवस्था ज्यादै कमजोर भएका परिवारले पनि उपचार पाउनु पर्छ भन्ने उद्देश्यले ५ बर्ष स्वास्थ्य बिमा कार्यक्रम थालेको उहाँको भनाई छ । उर्लाबारी वडा नं. ९ की विमाकर्ता, नेपाली कांग्रेसका युवा नेता विजय आङ्बुहाङ, सामाजिक ब्यक्तित्वलगायतको उपस्थिति रहेको थियो । पोमुले कोही वडाका आर्थिक अवस्था कमजोर भई उपचार नपाएका बिरामीहरुको समेत निःशुल्क उपचार गर्ने बताउनुभएको छ ।