उर्लाबारी । मोरङको उर्लाबारीमा सम्पन्न तेस्रो उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नं.६ ले उचालेको छ ।
आज राधिका मावि उर्लाबारी–६ को खेलमैदानमा सम्पन्न फाइनल खेलमा वडा नं. ७ लाई ३–२ गोल अन्तरले पराजित गर्दै वडा नं. ६ ले दोस्रो पटक मेयर कपको उपाधि उचालेको हो । दोस्रो मेयर कप पनि वडा नं. ६ ले नै जितेको थियो ।
वडा नं. ६ लाई उपाधि जिताउन एकराज गिरी, मिलन धिमालले पहिलो हाफमा गोल गरे भने दोस्रो हाफमा जंगबहादुर खड्काले गोल गरेका थिए । वडा नं. ७ का सोनाम इङ्नामले दुई गोल गरेका थिए । उपाधिसँगै वडा नं. ६ ले नगद १ लाख ७५ हजार र उपविजेता वडा नं. ७ ले नगद १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो पुरस्कार प्रदान गर्नुभयो ।
को बने उत्कृष्ट ?

फाइनल खेलको म्यान अफ दि म्याच वडा नं. ७ का सुरेश राई घोषित भए । वडा नं. ६ का एकराज बुढाथोकी सर्वोत्कृष्ट खेलाडी, धिरज चौधरी उत्कृष्ट गोलकिपर, कमल घिमिरे उत्कृष्ट डिफेन्डर, रोवट घिमिरे उत्कृष्ट मिडफिल्डर, स्माइल लिम्बू उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै, वडा नं. ७ का सोनाम इङ्नामले उत्कृष्ट स्ट्राइकरको उपाधि पाए । प्रतियोगितामा ३÷३ गोल गर्न सफल भएका वडा नं. ७ का सोनाम इङ्नाम र वडा नं. ६ का जंगबहादुर खड्का सर्वाधिक गोलकर्ता बने । वडा नं. ५ का विशाल राई उदयमान खेलाडी घोषित भए । विधागत उत्कृष्ट भएको खेलाडीले जनही ५ हजार नगदसहित ट्रफी प्राप्त गरे ।
उर्लाबारी फुटबल क्लबको आयोजनामा गत फागुन १५ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो । फुटबल खेलाडी उत्पादनमा मेयर कप फुटबलले सहयोग पुगेको क्लबका अध्यक्ष दीपेन्द्र धिमालले बताउनुभयो । पहिलो मेयर कपको उपाधि वडा नं. ५ ले जितेको थियो भने दोस्रोको वडा नं. ६ ले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय