
काठमाडौँ । गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । समीक्षाले पलविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा प्रहरीमा उजुरी दिएकी हुन् ।
१८ वर्षमुनिकी गायिकासँग यौन सम्बन्ध राखेको आरोप लागेका पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो । समीक्षाले आफूलाई जवर्जस्ती शारीरिक सम्बन्ध राखेकाे भन्दै पलविरुद्ध आज उजुरी दिएकी हुन् ।
आफ्नो गीतको एउटा म्युजिक भिडियोको सुटिङको लागि तनहुँ गएका बेला पलले आफूलाई ‘फकाएर’ जवर्जस्ती शारीरिक सम्बन्ध राखेको समीक्षाले आरोप लगाएकी छिन् । पलबाट आफू पीडित भएको भन्दै उनले उजुरी दिएकी हुन् ।
पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले कानुनी कारवाहीको माग गर्दै उनी आफैं उपस्थित भएर शाह विरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
केही समयअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिन पुगेकी समीक्षालाई पल पोखरा नै पुगेर विवाह गर्ने वाचा गर्दै उजुरी दिन राेकेका थिए । उनी अहिले बल्ल १७ वर्ष पुगेकी छिन् ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।