
काठमाडौँ । नेपाल आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ ।
अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल समूह बीको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ ।
साेमबार ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा क्यानडाले नेपाललाई दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्बाधिक ३४ रन बनाए । उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको अविजित साझेदारी गरे । दीपेन्द्रले २७ रनको योगदान गरे । कुशलले अघिल्लो खेलमा फिलिपिन्सविरुद्ध १०४ रनको अविजित शतकीय पारी खेलेका थिए ।