
उर्लाबारी । मोरङको उर्लाबारीमा यही फागुन १५ गतेदेखि तेस्रो मेयर कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
उर्लाबारीका ९ वटै वडाको सहभागिता रहने प्रतियोगिता फागुन २३ गतेसम्म सञ्चालन हुने कोषाध्यक्ष योगराज फागोले जानकारी दिनुभयो । उद्घाटन खेलमा गत बर्षको विजेता उर्लाबारी वडा नं. ६ र ३ बीच प्रतिष्पर्धा हुने उहाँको भनाई छ । उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विशाल तामाङले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य प्रायोजक उर्लाबारी नगरपालिका रहने र खेल सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उहाँको भनाई छ । प्रतियोगिताकै अवसरमा साफ प्रतियोगितामा च्याम्पियन बन्न सफल नेपाली फुटबल टोलीका सदस्य उर्लाबारी निवासी मिक्चेन तामाङ र साफमा महिलातर्फ रजत पदक विजेता टोलीकी कविता धिमाललाई नगदसहित सम्मान गरिने क्लबका कार्यवाहक अध्यक्ष सुब्रत अधिकारीले जानकारी दिनुभयो । तामाङलाई ७५ हजार र धिमाललाई ५० हजारसहित उनीहरुलाई सम्मान गरिने जनाइएको छ ।
यस्तै, उर्लाबारी घर भई राष्ट्रिय टिममा स्थान बनाउन सफल फुटबल खेलाडीहरु विजय धिमाल र रजिन धिमाललाई पनि नगदसहित सम्मान गरिने सचिब भीष्म बुढाथोकीले जानकारी दिनुभयो । यसअघि दिनमा दुई खेलाउने निर्णय गरेको आयोजकले अब दैनिक एक खेल खेलाउनेछ ।